काठमाडौं- भ्रष्टाचार मुद्दामा मुछिएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा राजकुमार रौनियार र डा रामहरि रौनियारले सफाइ पाएका छन्। विशेष अदालतले उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गर्दै दिएको निवेदनमा प्रमाण नपुगेको भन्दै सफाइ दिएको हो।
अख्तियारले उनीहरु दुवैलाई १ करोड २८ लाख घुस–रिसवत लिएको आरोप लगाउँदै विशेषमा मुद्दा हालेको थियो। उक्त मुद्दाको फैसाल गर्दै विशेषले उनीहरुले भ्रष्टाचार गरेको भन्ने पुष्टि नभएको भन्दै सफाइ दिएको हो।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको होष्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्कामा घुस लिएको आरोपमा उनी पक्राउ परेका थिए। ठेक्का पाएको श्याम सुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा उनले घुस लिएको अख्तियारको आरोप थियो।
त्यस्तै विभिन्न मितिमा रनिङ बिलको भुक्तानी दिँदा प्रतिष्ठानका उप–कुलपति रौनियारले पटकपटक कमिसन बापत घुस–रिसवत लिएको अडियो–भिडियो सहितको उजुरी अख्तियारमा परेको थियो। अख्तियारमा परेको उजुरीको आधारमा खोजी भइराख्दा डा राजकुमार रौनियरा घुससहित पक्राउ परेको अख्तियारले दाबी गरेको थियो।
प्रतिष्ठानमा हाउस अफिसरको रुपमा कार्यरत डा रामहरि रौनियार मार्फत डा राजकुरमार रौनियारले घुस लिएको अख्तियारको आरोप थियो। डा रौनियारले पटकपटक गरी जम्मा १ करोड २८ लाख घुस–रिसवत लिएको भन्दै कारबाहीको मागसहित विशेषमा मुद्दा हालेको थियो।