काठमाडौं–विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा ओपीडी टिकट काट्ने समय परिवर्तन भएको छ। बुधबारदेखि प्रतिष्ठान ओपीडी टिकट लिने समय परिवर्तन गरेको हो। यस भन्दाअघि ओपीडी काउण्टर विहान ८ बजेदेखि खुल्ने गरेकोमा बिरामीहरुको सुविधालाई ध्यानमा राखी अब उप्रान्त ७ः३० बजेदेखि नै काउण्टर खुल्ने व्यवस्था गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणि पोखरेलले जानकारी दिए।
अब काउण्टर विहान ७ः३० बजेदेखि १२ः०० बजेसम्म खुल्नेछ। दिउँसो भने पुरानै समय २:०० बजेदेखि ३ः०० बजेसम्म ओपीडी काउन्टर खुल्नेछ।
यस्तै, अस्पतालले नेपाल सरकारको विपन्न नागरिक कार्यक्रमअन्तर्गत मुटु, क्यान्सर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, पार्किन्सन्स, अल्जाइमर, मृगौला रोगका बिरामीहरुलाई सेवा सुविधाअन्तर्गत पाइने चिकित्सकको सल्लाह बमोजिमको औषधि तथा औषधिजन्य सामाग्रीहरु खरिद गरेवापतको बिल शोधभर्नाका लागि सोझै अस्पताल प्रशासनमा दाबी गर्ने गरिएकोमा सो प्रावधानलाई पनि केहि फेरबदल गरिएको जानकारी दिएको छ।