काठमाडौं- सरकारले संघ तथा प्रदेश निर्वाचनको मिति घोषणा नगर्दै विभिन्न ठाउँबाट उम्मेदवारी घोषणा सुरु भएको छ।
काठमाडौंको कोटेश्वरस्थित गौतम वुद्ध अस्पतालका प्रबन्ध निर्देशक भुवन श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरेका छन्। श्रेष्ठ विगत लामो समयदेखि नै सामाजिक कार्यमा सक्रिय रहँदै आएका थिए।
विशेषगरी कोरोनाको पहिलो चरणमा उनले धेरै सामाजिक कार्यहरु गरे। श्रेष्ठ कोरोनाको समयमा संक्रमित बिरामीको उपचारमा २४ सै घण्टा स्वास्थ्यकर्मीहरुलाई हौसला दिँदै सेवामा खटिएका थिए।
उनले समाज रुपान्तरणका लागि युवापुस्ताको भूमिका आवश्यक भएकाले आफूले उम्मेदवारी घोषणा गरेको उल्लेख गरे। श्रेष्ठसँग मेडिकल सेक्टर काम गरेको झण्डै १२ वर्षको अनुभव छ। उनले सर्वांग, मेगा, गणेशमान, करुणा र समिट हस्पिटलमा काम गरिसकेका छन्। जहाँ उनले कोरोनाकाे समयमा धेरै बिरामीको सेवासमेत गरे।
सर्लाही स्थायी घर भएका ३१ वर्षीय उनी हाल काठमाडौंमा बस्दैं आएका छन्।
कुनै पनि नेपाली आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुन नपरोस र पैसा कै कारण उपचार गर्न नपाएर अकालमै मृत्यु हुन नपरोस भन्ने नीतिगत व्यवस्था गर्न आफूले संघको चुनाव लड्न लागेको उनले बताए।
काठमाडौं-२ पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्र हो।