काठमाडौं- जानकी मेडिकल कलेजले महोत्तरी र धनुषामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ।
मेडिकल कलेजले इजरायलको नेपालस्थित राजदुतावास र टेल अभिभ सौरस्काइ मेडिकल सेन्टर इचिलोभ हस्पिटल इजरायलको संयुक्त आयोजनामा शिविर संचालन गर्न लागिएको हो। दुई दिने शिविरबाट हजारौं नागरिकले सेवा लिने कलेजले जनाएको छ।
शिविरमा मेडिकल कलेजका प्रतिष्ठित चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीसँगै इजरायलका प्रतिष्ठित डाक्टरहरुको समेत सहभागिता रहनेछ। मेडिकल कलेजका फ्याकेल्टी प्रमुख डा रामप्रसाद उप्रेतीले शिविरबाट नागरिकले गुणस्तरीय सेवा पाउनुका साथै नेपाल र इजरायलको सम्बन्धमा थप उचाइ प्रदान गर्ने बताए।
शिविरसँगै जानकी मेडिकल कलेजले कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि तालिमको समेत आयोजना गरेको छ। उक्त तालिममा इजरायलबाट आएका चिकित्सकहरुको टोलीले नयाँ नयाँ विषयमा जानकारी दिनुका साथै आफ्ना अनुभव समेत सुनाउने उप्रेतिले जानकारी दिए।
गुणस्तरीय मेडिकल शिक्षा प्रदान गर्दै दक्ष डाक्टरहरु उत्पादन गर्ने लक्ष्य लिएको कलेजले विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आइरहेको छ। सोही कार्य अन्तरगत कलेजले शिविर संचालन गर्न लागेको हो।