काठमाडौं- नेपाल उद्योग परिसंघले सेनेटरी प्याडसहित वायर रड, घ्यू, तेल लगायत उद्योगमा परेको असर सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।
परिसंघले शुक्रबार एक विज्ञप्ति जारी गरी सरकारले ल्याएको राजस्व नीतिका कारण वायर रड उद्योग, घ्यूतेल उद्योग, सेनेटरी प्याड उद्योगलगायतमा मार परेको भन्दै समास्या समाधान गर्न आग्रह गरेको हो।
सेनेटरी प्याड स्वास्थ्यको न्यूनतम आधारभूत आवश्यकता भएकाले यस्ता वस्तु मुलुकमै न्यूनतम मूल्यमा उत्पादन हुनसक्ने गरी सम्बद्ध उद्योगहरू संरक्षण गर्नसमेत परिसंघले सरकारसँग आग्रह गरेको छ।
छिमेकी मुलुक भारतले स्वदेशी उद्योग संरक्षण गर्ने नीति अवलम्बन गर्दै वायर रड निर्यातमा १५ प्रतिशत निर्यात कर लगाएको तर वायर रडबाट बन्ने तयारी सामानको निर्यातमा कुनै कर नलगाएको बताउँदै नेपालमा वायर रड आयात गरी विभिन्न प्रकारका फलामे तार उत्पादन गर्दा नेपाली उद्योगहरूको लागत निकै बढी परेकाले व्यवसायी मारमा परेको परिसङ्घले जनाएको छ।
परिसंघले छिमेकी मुलुक भारतले आफ्ना उद्योग संरक्षण गर्ने नीति लिए पनि नेपालले भने आयात गर्ने वस्तुमा भन्सार र अन्तशुल्क बढाएर स्वदेशी उद्योग धरासायी बनाउने वातावरण निर्माण गरेको बताएको छ। स्वदेशी उद्योगहरूलाई धरासायी हुनबाट जोगाउन अहिले वायर रडको आयातमा तोकिएको भन्सार महसुलमा ९० प्रतिशत छुट गर्न आग्रह गरिएकोे छ।