बैतडी - पूर्ण खोप सुनिश्चितताका लागि बैतडीमा घरधुरी सर्वेक्षण गर्न थालिएको छ। जिल्लाका १० वटै स्थानीय तहमा घरधुरी सर्वेक्षण थालिएको हो।
स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाले सबै खोप लगाए/नलगाएका बारेमा जानकारी लिनका लागि नमूनाका रुपमा घरधुरी सर्वेक्षण गर्ने कार्य भइरहेको छ। सबै पालिकाका तीन/तीन वडामा एक वडामा १५ घरधुरीका हिसाबले सर्वेक्षण कार्य भइरहेको हो।
पालिकाहरुले यसअघि नै प्रत्येक घरमा घरधुरी सर्वेक्षण गरिसकेकाले सो कार्यलाई प्रमाणीकरण गर्नका लागि जिल्लाभरि घरधुरी सर्वेक्षण कार्य थालिएको उनले बताए। १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए/नपाएको बारेमा सर्वेक्षण भइरहेको छ। जन्मेदेखि २३ महिनासम्मका बालबालिकालाई विभिन्न रोगविरुद्ध १२ खोप दिने गरिएको छ। प्रमुख भट्टले भने, 'पालिकालेहरुले गरेको सर्वेक्षणलाई हामीले सही छ कि छैन भनेर प्रमाणीकरण गरिरहेका छौँ, सर्वेक्षणका क्रममा कुनै बालबालिका छुटेको पाइएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा लगेर खोप लगाउँछौँ।'
जेठ मसान्तसम्म सञ्चालन हुने घरधुरी सर्वेक्षण कार्यक्रममा स्वास्थ्यकर्मी, पत्रकार, खोप समन्वय समितिका पदाधिकारी, रेडक्रसकर्मीलगायतको सहभागिता रहेको छ। बैतडी जिल्ला २०७२ सालमा पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसकेकाले प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित गर्ने गरिएको छ।
खोप पाउने उमेर समूहका बालबालिकाहरुले पूर्ण खोप पाएमा पालिकाहरुलाई प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिने र त्यसपछि स्वास्थ्य कार्यालयले प्रमाणीकरण गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने गरिन्छ। यो वर्ष असार पहिलो साता पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी छ।