काठमाडौं- संघीय संसदमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी छ। प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसद भानुभक्त ढकालले प्रतिपक्षले सदनमा उठाएका विषयमा सरकारका सम्बन्धित मन्त्रीले जवाफ दिने परम्परा रहेकाले सत्तापक्षका सांसदलाई जवाफ दिने भूमिका प्रदर्शन नगर्न आग्रह गरेका छन्।
विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयकोे विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सम्बन्धित मन्त्रीहरुले कार्यसूचीबमोजिम नै जवाफ दिने भएकाले सत्तापक्षका सांसदले जवाफ दिइरहन नपर्ने बताए।
पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले आफ्नो पालामा कोभिङ–१९ विरुद्धको खोप हराएको भन्ने वर्तमान स्वास्थ्यमन्त्रीको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसको जवाफ माग गरे।
उनले स्वास्थ्य क्षेत्रका कतिपय कार्यक्रम योजनाका आधारमा नभई सत्तापक्षका कार्यकर्तालाई लाभ दिने ढङ्गले ल्याइएको आरोप लगाए।