काठमाडौं- जानकी मेडिकल कलेजले अयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ८७० बढीले सेवा लिएका छन्। मेडिकल कलेजले महोत्तरी र धनुषामा आयोजना गरेको दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट पहिलो दिन ३५० र दोस्रो दिन ५२० बढीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन्।
मेडिकल कलेजले इजरायलको नेपालस्थित राजदुतावास र टेल अभिभ सौरस्काइ मेडिकल सेन्टर इचिलोभ हस्पिटल इजरायलको संयुक्त आयोजनामा शिविर संचालन गरेको हो।
शिविरमा जनरल मेडिसिन, जनरल सर्जरी, नाक, कान तथा घाँटी रोग, बालरोग, छाला तथा सौन्दर्य, हाडजोर्नी तथा नशा रोगसम्बन्धी चिकित्सकहरुबाट निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।
शिविरमा मेडिकल कलेजका प्रतिष्ठित चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीसँगै इजरायलका प्रतिष्ठित डाक्टरहरु समेतले सेवा दिएका थिए।
शिविरमा सहभागीहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको छ। उक्त प्रमाणपत्र लिएर जानकी मेडिकल कलेज अस्पतालमा जाने बिरामीहरुले ५० प्रतिशत छुट पाउने अस्पतालकी निर्देशक डा प्रियंका शर्माले जानकारी दिइन्। शिविरबाट नागरिकले गुणस्तरीय सेवा पाउनुका साथै नेपाल र इजरायलको सम्बन्धले थप उचाइ पाएको शर्माले बताइन्।
शिविरसँगै जानकी मेडिकल कलेजले कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि मंगलबार महिला तथा बाल स्वास्थ्य सम्बन्धी तालिमको समेत आयोजना गरेको छ। उक्त तालिममा इजरायलबाट आएका चिकित्सकहरुको टोलीले विभिन्न चिकित्सकीय जानकारी दिनुका साथै आफ्ना अनुभव समेत सुनाउने छन्।
गुणस्तरीय मेडिकल शिक्षा प्रदान गर्दै दक्ष डाक्टरहरु उत्पादन गर्ने लक्ष्य लिएको कलेजले विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आइरहेको छ। सोही कार्य अन्तरगत कलेजले शिविर संचालन गरेको निर्देशक शर्माको भनाई छ।