काठमाडौं- जानकी मेडिकल कलेजको आयोजनामा एकदिने महिला तथा बालस्वास्थ्य सम्बन्धी तालिम मंगलबार जनकपुरमा सम्पन्न भएको छ।
मेडिकल कलेजले इजरायलको नेपालस्थित राजदुतावास र टेल अभिभ सौरस्काइ मेडिकल सेन्टर इचिलोभ हस्पिटल इजरायलको संयुक्त आयोजनामा तालिम आयोजना गरेको हो।
उक्त तालिममा इजरायलबाट आएका चिकित्सकहरुको टोली र मेडिकल कलेजका विद्यार्थीहरुबीच महिला तथा बालबालिकाको स्वास्थ्यसँग सम्बन्धित सिप साटासाट गरिएको थियो।
तालिममा विेशेषगरी महिलामा देखिने स्तन क्यान्सरको समस्या र स्तन क्यान्सरमा प्रयोग हुने नविनतम उपचार विधिका बारेमा इजरायलबाट आएका चिकित्सकहरुले जानकारी दिएका थिए। तालिममा स्तन क्यान्सरको उपचार प्रक्रियको बारेमा डेमो समेत देखाइएको थियो।
तालिममा महिलाहरु गर्भवती भएको अवस्थामा देखिने समस्या एवं बालस्वास्थ्यका बारेमा समेत छलफल भएको थियो। तालिमले नेपाल र इजरायलको सम्बन्धले थप उचाइ पाएको जानकी मेडिकल कलेज अस्पतालकी निर्देशक डा प्रियंका शर्माले जानकारी दिइन्।
यसैबीच मेडिकल कलेजले आइतबार र सोमबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ८७० बढीले सेवा लिएका छन्। मेडिकल कलेजले महोत्तरी र धनुषामा आयोजना गरेको दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट पहिलो दिन ३५० र दोस्रो दिन ५२० बढीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन्।
शिविरमा जनरल मेडिसिन, जनरल सर्जरी, नाक, कान तथा घाँटी रोग, बालरोग, छाला तथा सौन्दर्य, हाडजोर्नी तथा नशा रोगसम्बन्धी चिकित्सकहरुबाट निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।
शिविरमा मेडिकल कलेजका प्रतिष्ठित चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीसँगै इजरायलका प्रतिष्ठित डाक्टरहरु समेतले सेवा दिएका थिए। शिविरमा सहभागीहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको छ। उक्त प्रमाणपत्र लिएर जानकी मेडिकल कलेज अस्पतालमा जाने बिरामीहरुले ५० प्रतिशत छुट पाउने अस्पतालकी निर्देशक डा शर्माले जानकारी दिइन्।