काठमाडौं– बुधबार सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दैछन्। संघीय सरकारले बजेट प्रस्तुत गरेको १५ दिनपछि सात वटै प्रदेशले प्रादेशिक बजेट प्रस्तुत गर्न लागेका हुन्।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार देशका सबै प्रदेशले हरेक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ। यो अहिलेका प्रदेश सरकारको अन्तिम बजेट पनि हो। यही वर्ष मंसिरभित्र प्रदेश सभाको निर्वाचन भएर प्रदेशहरूमा नयाँ सरकार बन्नेछ।
प्रदेश १ सरकारले सार्वजनिक गर्न लागेको बजेट झन्डै ३८ अर्ब रुपैयाँ बराबरको छ। मधेस प्रदेशको झन्डै ३४ अर्ब, बागमती प्रदेशको झन्डै ६० अर्ब र गण्डकी प्रदेश सरकारले ३० अर्ब ९६ करोड रुपैयाँ बराबरको बजेट आउँदै छ।
लुम्बिनी प्रदेश सरकारले ४१ अर्ब, कर्णाली प्रदेश सरकारले ३६ अर्ब ५४ करोड र सुदूरपश्चिम प्रदेश सरकारले ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेका छन्।