काठमाडौं– नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले राखेको मृत्यु बीमाको प्रस्तावमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा सकारात्मक देखिएका छन्।
उनले सांसदहरुको प्रश्नमा उत्तर दिँदै नयाँ विषय तर गम्भीर भएकाले छलफल गर्न तयार रहेको बताएका छन्।
उनले भने, ‘माननीयज्यूले मृत्यु बीमाको कुरा मैले चाखपूर्ण रुपमा सुनेँ। नयाँ विषय हो। विश्वमा अन्त प्रचलन छ कि छैन? नयाँ प्रचलन सुरु गर्न के गर्नुपर्छ? यसमा बहस गरौं।’
मृत्युपछि लास उठाउन नसकेर रुवाबासी आफूले पनि बेहोरेको बताउँदै यसमा थप छलफल गर्नुपर्ने बताए। ‘मृत्यु बीमा गर्यो भने अस्पतालले नमरेको मारिदिने हो कि? जस्ता अनेकौं कुतर्क हुन सक्छन्। तर पनि बहस गरौं,’ उनले भने।
एमाले सांसद तामाङले मृत्युको बीमा गर्ने कार्यक्रम ल्याउन माग गरेका थिए। यसले गरिब तथा असहायको लागि अस्पतालमा उपचार गर्दाको खर्च बेर्होने उनको तर्क थियो। आइतबरा प्रतिनिधि सभाको मन्त्रालयगत छलफलमा सहभागी हुँदै तामाङले उक्त माग गरेका थिए।
उनले भनेका थिए, ‘उमेर हद तथा रोगजन्य परीस्थितिले बाँचिदैन। तर, अस्पतालको बिलमा बाँचेकालाई साँच्चै अधमरोको जस्तो हुन्छ। मान्छे मर्छ तर बिल भने तिर्न नसक्ने हालतमा पुग्छ। उपचार गरेपछि बाँचेर आयो भने ठिकै छ तर यति बाँचिदैन भने यसको बीमा गरौं र राज्यले बेहोर्ने नीति ल्याऔं। यसले, मर्ने त मर्यो तर बाँचेकाको बाँच्नै नसक्ने स्थितिको अन्त्य हुन्छ।’