काठमाडौं- नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले प्रतिनिधि सभाको बैठकमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले बोलेको भाषामा आपत्ति जनाएका छन्। आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा संसदमा मन्त्री खतिवडाले बोलेका भाषा संसदिय मर्यादाविपरित भएको भन्दै सांसद भट्टराईले ध्यानाकर्षण गरेका हुन्।
मन्त्री खतिवडाले सांसदहरुले उठाएका जिज्ञासालाई जिद्दी बालकजस्तो, नाई मलाई त्यही केटी चाहिन्छ भनेजस्तो, फोक्से शरीर, क्वीन्टलको तौल लगायतका शब्दहरु प्रयोग गरेका थिए। मन्त्री खतिवडाले स्वास्थ्य बीमा निजी कम्पनीलाई दिने विषयमा विरोध गर्दै संसदमा आवाज उठाउनेहरुलाई लक्षित गर्दै जिद्दी बालकजस्तो र नाई मलाई त्यही केटी चाहिन्छ जस्ता भाषा प्रयोग गरेका थिए।
त्यसपछि सांसद भट्टराईले मन्त्री खतिवडाले संसदको मर्याद र शिष्टता विपरित बोलेको भन्दै ध्यानाकर्षण गरेका हुन्। उनले प्रतिनिधि सभालाई कुस्ती खेल्ने ठाउँ होइन भन्दै मन्त्री खतिवडाको भाषामाथि पनि प्रश्न गरेका छन्।
'स्वास्थ्यमन्त्रीज्यू यो गरिमामय संसदको एकजना पुरानो माननिय सदस्य पनि हो। मैले उहाँबाट शिष्टता र एउटा मर्यादाको भाषा अपेक्षा गरेको थिएँ। र उहाँले ठीक विपरित यो संसदलाई यो प्रतिनिधि सभालाई कुस्ती खेल्ने मैदान जस्तो ठानेर जवाफ दिनु भएको छ। म माननिय स्वास्थ्यमन्त्रीज्यूको ध्यानाकर्षण गर्न चाहन्छु। यो प्रतिनिध सभा हो कुस्ती खेल्ने ठाउँ होइन। तपाईं क्वीन्टल हुनुहुन्छ होला तर किलोवाला सांसदहरु तपाईंसँग झगडा गर्न चाहेका होइनन्। तपाईंसँग जवाफ चाहेका हुन्,' सांसद भट्टराईले भने।
उनले स्वास्थ्य बीमाका विषयमा अर्थमन्त्रीको बजेट वक्तव्यबाट कम्पनीलाई दिने कुरा हटे नहटेको विषयमा जवाफ समेत मागेका छन्।
'बीमाको कुरा जुन सवाल छ हामीले बीमा बीमा बीमा भनेका छौं। तपाईंले जवाफ दिनुभयो नाई मलाई त्यही केटी चाहिन्छ। सायद तपाईंलाई नै त्यो प्रशंग लाग्छ जस्तो मलाई लाग्छ किनभने तपाईंले जतिसुकै भनेपनि अर्थमन्त्रीजीको बजेट वक्तव्यबाट त्यो हट्यो कि हटेन? हामीले खोजेको त्यो हो। अर्थमन्त्रीको बजेट वक्तव्यबाट कम्पनीबाट बीमाको काम हुन्छ भन्नेकुरा हट्यो कि हटेन तपाईंले जवाफ दिनुहोस्,' संसदमा भट्टराईले भने।