काठमाडौं- पूर्व स्वास्थ्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई चार बुँदे सुझाव दिएका छन्। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटका विषयमा भइरहेको छलफलमा उनले स्वास्थ्य मन्त्रालयले अहिले ध्यान दिनुपर्ने मुख्य चार विषयमा सुझाव दिएका हुन्।
पूर्व स्वास्थ्यमन्त्री पोखरेलले स्वास्थ्य सेवा विभाग, रोग नियन्त्रण केन्द्र, स्वास्थ्यका जनशक्ति र स्वास्थ्य बीमाका विषयमा केन्द्रित रहेर सुझाव दिएका छन्।
यी हुन् पूर्व स्वास्थ्यमन्त्री पोखरेलले दिएका चार सुझाव
१. स्वास्थ्य सेवा विभागलाई सबै प्रदेशमा लैजाउँ। सात वटा विभाग बनाउँ।
२. रोग नियन्त्रण केन्द्रलाई अघिल्ला वर्षमा पनि आएको छ। सरुवा रोग र नसर्ने रोग हेर्ने एउटा शक्तिशाली संरचना केन्द्र बनाउँ। त्यसलाई स्वास्थ्य मन्त्रालय अन्तर्गत नै राख्न पर्दैन। त्यो पक्षमा ध्यान दिउँ।
३. अहिले स्वास्थ्यमा २० हजार जनशक्ति अभाव छ। त्यसको ठोस समाधान गर्ने गरी अगाडि बढाउँ।
४. स्वास्थ्य बीमाको सन्दर्भमा यसको स्पिरिट अनुरुप अहिले फर्मल सेक्टरलाइ पनि यसमा जोडौं। अध्ययन चाँही बोर्ड मार्फत कार्यान्वयन गर्ने प्रक्रियामा कहाँ त्रुटि भए किन त्यो ऐन पूर्णरुपमा कार्यान्वयन भएन। कसरी विपन्न गरिबहरुले त्यो ऐनबाट लाभ लिन सक्छन् र सबैलाई त्यो बाध्यकारी व्यवस्था किन कार्यान्वयन गरिएको छैन। त्यता ध्यान दिए पुग्छ।
पूर्व स्वास्थ्यमन्त्री पोखरेलका सुझावका विषयमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले सकारात्मक रुपमा लिँदै छलफल अगाडि बढाउन सकिने बताएका छन्। मन्त्री खतिवडाले पूर्व स्वास्थ्मन्त्री पोखरेलले आवश्यक गृहकार्य गरेर नै विषयहरु ल्याएको भन्दै उनको प्रशंसा पनि गरेका छन्।
'स्वास्थ्य सेवा विभागलाई प्रदेशमा लैजाने कुरा पनि गर्नुभयो। के हो कसरी लैजान सकिन्छ? यसलाई छलफलमा लैजान सकिन्छ। हाम्रो गिरिराजमणिजीले पक्कै केही न केही एक्सरसाइज गरेर नै ल्याउनु भएको होला यो। यत्तिकै फुत्त बोल्दिने मान्छे होइन। नोकझोक गर्ने मान्छे पनि होइन।'