काठमाडौं- राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङबाट हालसम्म ७ हजार बढीले स्वास्थ्य बिमामार्फत स्वास्थ्य सेवा लिएका छन्।
प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेको अध्यक्षतामा प्रतिष्ठानमा आयोजित स्वास्थ्य बिमा समीक्षा गोष्ठीमा बितेको ११ महनिामा ७ हजार बढीले सो सेवा लिएको जानकारी दिइयो। प्रतिष्ठानका अनुसार २०७८ साउन ३ गतेदेखि २०७९ जेठ ३१ सम्म ७ हजार १ सय २२ जनाले स्वास्थ्य बिमामार्फत स्वास्थ्य सेवा लिएका छन्।
प्रतिष्ठानमा कार्यरत स्वास्थ्य बीमा अभिलेख शाखाकी सहजकर्ता दुर्गा श्रेष्ठले २०७४ मंसिर १ गतेबाट सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत रोल्पाबाट रिफर भई आएकालाई सेवा दिँदै प्रकृया अघि बढाए पनि दाङमा २०७७ माघ ३० गतेदेखि पूर्ण रुपमा लागू भएयता २०७७ फागुन १ गतेबाट प्रतिष्ठानले स्वास्थ्य बीमा कार्यक्रम सेवा सुरु गरेको थियो। प्रणालीमा सेवा दिने काम भने २०७८ मंसिरबाट भएको उनको भनाई थियो।
उनका अनुसार २०७७ फागुनमा ४० जना, चैतमा ५० जना, वैशाखमा ९० जना, जेठमा १०० जना र असारमा ९५ जनाले स्वास्थ्य बिमामार्फत प्रतिष्ठानबाट सेवा लिन सफल भएका छन्। यस्तै, २०७८ को साउनमा १३० जना, भदौमा २२० जना, असोजमा ३ सय १६ जना, कार्तिकमा ३ सय ५५ जना, मंसिरमा ४ सय ८६ जना, पुसमा ५ सय ५४ जना, माघमा ४८८ जना, फागुनमा १ हजार ३९ जना र चैत्रमा १०५१ जनाले स्वास्थ्य बीमामार्फत सेवा लिएका छन्।
यस्तै २०७९ वैशाखमा ७ सय ५८ तथा जेठ मसान्तसम्ममा १ हालसम्मकै सबैभन्दा धेरै १ हजार ३ सय ५० जनाले स्वास्थ्य बीमामार्फत सेवा लिएका उनले जानकारी दिइन्। २०७८ साउन ३ देखि २०७९ जेठ ३१ सम्म ७ हजार १ सय २२ जनाको स्वास्थ्य बीमामार्फत प्रतिष्ठानले दिएको स्वास्थ्य उपचारबापतको रकम भुक्तानीमा भने बीमा कम्पनीले ढिलाई गरेको छ।
बीमा कम्पनीले हालसम्म करीब २८ लाख भुक्तानी गरेपनि १ करोड ३० लाख २९ हजार ७१ रुपैयाँ विमितको स्वास्थ्य विमावापत प्रतिष्ठानलाई बुझाउनु पर्ने भुक्तानी रकम निकासा हुनसकेको छैन।
प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले प्रतिष्ठानले स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन आगामी दिनमा यसको दायरा अझ बढाउँदै लैजान सरोकार निकायसँग पनि परामर्श गर्ने जानकारी दिए। समिक्षा गोष्ठीमा शिक्षाध्यक्ष डा वसन्त लामिछाने, मेडिकल निर्देशक रमेश कँडेल, स्वास्थ्य बीमा बोर्ड दाङका प्रमुख गोपिलाल वलि लगायत विभिन्न वार्डमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो।