काठमाडौं- संघीय संसदमा बजेटमाथिको छलफल जारी छ। बिहीबारको सदनमा अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै थिए, प्रमुख प्रतिपक्षि दल नेकपा एमाले भने सदन बहिष्कार गरेर बाहिरियो।
तर सभामुखले संसदलाई अगाडि बढाए। उनले अर्थमन्त्रीको जवाफमा प्रतिप्रश्न गर्न सांसदहरुलाई समय दिए। समयको सदुपयोग गर्दै हरेक विषयमा खरो रुपमा उत्रिने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले माइक लिए र अर्थमन्त्रीलाई प्रतिप्रश्न गरे।
त्यतीबेलासम्म एमाले सांसदहरु बैठकबाट निस्किसकेका थिए। सभामुखले सदनलाई पुर्ववत रुपममै संचालन गरे। अर्थमन्त्रीले सुवालको सवालको जवाफ फर्काए र रोष्टमबाट बिदा भए।
त्यसपछि सभामुखले प्रधानमन्त्री कार्यालय तथा रक्षा मन्त्रालयको विनियोज शिर्षकमाथिका विषयमा जवाफ दिन गृहमन्त्री बालकृष्ण खाणलाई समय दिए।
खाण रोष्टमतर्फ जान लाग्दा नेमकिपाका सांसद प्रेम सुवालले नियमापत्ति जनाए। उनले भने- 'सभामुख महोदय' यो गरिमामय संसदमा प्रधानमन्त्रीज्यु किन उपस्थित हुन सक्नु भएन? बिरामी हुनुहुन्छ कि विदेशमा हुनुहुन्छ' कि कुनै अस्पतालमा भर्ना हुनु भएको हो?
उनी यतिमै रोकिएनन् प्रधानमन्त्री संसदप्रति जिम्मेवार बन्नुपर्ने भन्दै अगाडी थपे- 'बिना जानकारी प्रधानमन्त्री अनुपस्थित हुन पाइदैन, प्रधानमन्त्रीनै जवाफदेही बन्नु पर्छ, विदेशमा गएको भए कार्यवहाक यहाँ आउनुपर्छ, अस्पतालमा भए त्यो जानकारी चाहियो।'
प्रधानमन्त्री शेरबहादुर देउवा भने संसद चलिरहेका बेला बिहीबार काठमाडौँको भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०२२’ को उद्घाटनपछि स्टल अवलोकन गर्दै थिए।
त्यसपछि सभामुखले प्रधानमन्त्री कार्यव्यस्तताले आउन नसकेको पत्र प्राप्त भएको र यो परम्परा पनि रहेको भन्दै बस्न आग्रह गरे। तर उनी बस्न मानेनन्। गृहमन्त्री खाण भने प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा रोष्टममा पुगेर जवाफ दिन सुरु गरे। अहिले सदन जारी छ।