काठमाडौं- नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष तथा समाजसेवी डाक्टर केदार नरसिंह केसीले नुवाकोटबाट संसदीय चुनावमा उठ्ने तयारी गरेका छन्। चिकित्सकका रुपमा आफ्नो कार्यथलोमा मात्र नभई नुवाकोटका गाउँ गाउँमा नियमित जस्तै स्वास्थ्य शिविर लिएर जनताको घर घरमा पुगेका डा केसी जनताका समस्या समाधान गर्न नै संसदमा प्रवेश गर्न खोजेको बताउँछन्।
डा केसीले नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिने तयारी गरेका हुन्। यसका बारेमा उनले आवश्यक छलफल र तयारी अगाडि बढाइसकेका छन्। डा केसीले आफ्नो परिवार राजनीतिमा लामो समयदेखि सक्रिय रहेका कारण पारिवारिक सल्लाहबाट नै अगाडि बढ्ने पनि बताएका छन्। डा केसी कांग्रेस नेता अर्जुननरसिंह केसीका भाई हुन्।
डा केसीले चिकित्सक संघको अध्यक्ष हुँदा मात्र नभई बाहिर बसेर पनि चिकित्सक तथा स्वास्थ्य क्षेत्रको सुधारमा काम गर्नुका साथै आवाज उठाउँदै आएका छन्। यसका साथै नेपालका राजनीतिक परिवर्तनमा समेत उनी अग्रमोर्चामा नै भेटिन्थे।
निर्वाचनमा उठ्ने तयारीका विषयमा डा केसीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका छन्।
हेरौं निर्वाचनमा उठ्ने तयारीका विषयमा डा केसीले सार्वजनिक गरेको धारणा
आगामी संघीय चुनावका लागि उम्मेद्वारी घोषणा सुरुभएको छ। नुवाकोट जिल्लामा २ सिट संघमा र चार सिट प्रदेशमा रहेको अवस्थामा विभिन्न कोणबाट विभिन्न साथीहरुले आफूलाई प्रस्तुत गर्नु स्वभाविककै हो। तर पनि यसलाई जिल्ला भरिको वरिस्ठ नेताहरु आम कार्यकर्तासंग छलफल भएको भए राम्रो हुन्थ्यो अहिले अधिकाम मतदाता सजग र सचेत छन् त्यस्को उदारण दिइरहन परेन। हामिले अथवा हाम्रो परिवारले झण्डै झण्डै ६० वर्षको सेरोफेरोमा नुवाकोटका दाजुभाइ दिदिबहिनीसँग प्रत्रक्षरूपमा सुखदुखमा संलग्न हुदै आएका छौं। विगत ०४८ सालपछिका कुनै पनि निर्वाचनमा हामी आफ्नै जन्मथलोबाट प्रतिनिधित्व गर्न पाएका छैनौं। म अर्जुन दाइ र रामशरण दाइपछि जिल्ला अथवा रास्ट्रस्तरका आन्दोलनमा प्रतक्ष सहभागी छु। ०३६ को जनमत सग्रहमा होस्, ०४६ को आन्दोलनमा झण्डै असफल भएको आन्दोलनलाई चिकित्सक र स्वास्थकर्मीहरुले गरेका भूमिकाको अग्रमोर्चा रहेर होस अथवा ०६२/६३ को जनआन्दोलनलाई परिचालन गरेर होस् अथवा जिल्ला कुनै पनि प्राकृति प्रकोप लागायत सामाजिक काममा मेरो संलग्नता रहँदै आएको छ। आगामी दिनमा विवेक पुर्ण असल आचरणका साथ पक्षपात बिहिन सहयोग गर्ने इच्छा भएको र अहिलेसम्म मैले आदरणीय नुवाकोटे दाजुभाइ दिदिबहिनी सँग कुनै सहयोग मागेको पनि छैन। म एकपटक भन्दा बढी चुनाव लड्ने पनि छैन तसर्थ आगामी संघीय चुनावमा एक नं क्षेत्र नुवाकोटबाट मैले चुनाव लड्ने विचार राखेको छु। हाम्रो परिवारिक राजनीतिमा म आफैं मात्र निर्णय पनि गर्दिन परिवारिक राय सल्लाहबाट नै सवैथोक हुन्छ तर सधैं केन्द्रबाट एकनासे निर्णय नहोस् भन्ने मात्र चाहाना हो। आगे हजुरहरुको मर्जी।