काठमाडौं- सरकारले ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर-बायोएनटेक खोप ढुक्क भएर लगाउन आग्रह गरेको छ। कोभिड १९ विरुद्धको उक्त खोप सुरक्षित भएकाले आफ्ना बालबालिकालाई ढुक्क भएर लगाउन सरकारले सबैलाई आग्रह गरेको हो।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कोभिड विरुद्धको भ्याक्सिन प्रवर्द्धन तथा कोभिड १९ को रोकथाम नियन्त्रण सम्बन्धी अन्तरक्रिया गरेको थियो।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहले कोभिड संक्रमणको जोखिमबाट बच्न सबैले खोप लगाउनुपर्ने बताए। विश्व स्वास्थ्य संगठन र औषधि व्यवस्था विभागले स्वीकृति दिइसकेको उक्त खोप बालबालिकाको लागि सुरक्षित रहेको उनले बताए।
परिवार कल्याण महाशाखाका निर्देशक डा विवेकलाल कर्णले खोपको प्रभावकारिता बारे आशंका नगर्न आग्रह गरे। खोप लगाएपछि हुन सक्ने संभावित घटना बारे छानबिन गर्न टोली समेत गठन गरिएको उनले बताए।
उनले भने, ‘खोप सुरक्षित छ। विभिन्न परीक्षणका क्रममा खोप सुरक्षित भएको प्रमाणित भएपछि मात्र डब्लुएचओ र औषधि व्यवस्था विभागले अनुमति दिन्छ। त्यसैले ढुक्क भएर खोप लगाउन आग्रह गर्दछु।’
परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत सञ्जय महासेठले २१ दिनको फरकमा दुई मात्रा खोप लगाउनुपर्ने जानकारी दिए। कुनै पनि बालबालिकालाई खोपको पहुँचबाट नछुटाइने गरी खोप अभियान सञ्चालन गरिने उनले बताए। सही तरिकाले खोप लगाए यसको प्रभावकारिता ९१ प्रतिशत रहेको महासेठले बताए।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्त बहादुर केसीले बालबालिका पनि कोभिडको जोखिममा भएकाले खोप लगाउनुपर्नेमा जोड दिए
सरकारले पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ। दोस्रो चरणमा ५० जिल्लामा ५ देखि ११ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। फाइजर बायोएनटेक खोप १२ वर्ष माथि र पाँच वर्ष मुनिका बालबालिकालाई लगाउन मिल्दैन। पहिलो मात्रा लगाएपछि शरीरमा कुनै पनि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया देखिए खोप लगाउन नमिल्ने महाशाखाले जनाएको छ। प्लाज्मा थेरापीमा भएको व्यक्तिले ९० दिनपछि मात्र खोप लगाउन मिल्छ।
साथै कोभिड संक्रमित भएको अवस्थामा खोप लगाउन नमिल्ने तर निको भएको ३० दिनपछि लगाउन मिल्ने महाशाखाले जनाएको छ। कुनै पनि प्रकारको गम्भीर बिरामी वा उच्च ज्वरो आएको अवस्थामा पनि खोप लगाउन नमिल्ने जनस्वास्थ्य अधिकृत महासेठले जानकारी दिए।