काठमाडौं- धुलिखेल अस्पताल र दोलखा अस्पतालले दोलखामा तीन वटा विद्यालयका विद्यार्थीहरुको निःशुल्क दन्त स्वास्थ्य जाँच परीक्षण गरेको छ।
भिमेश्वर नगरपालिकामा रहेको तीन वटा विद्यालयका २३१ विद्यार्थीहरुलाई निःशुल्क दन्त स्वास्थ्य परीक्षण गरिएको हो। परीक्षणसँगै दाँतको सरसफाई, रेखदेख कसरी गर्ने? समस्यामा आएमा कसरी समाधान गर्ने र के कस्तो खाने कुरा खाँदा दाँतलाई सुरक्षित र बलियो राख्न सकिन्छ भनेर दन्त शिक्षा समेत प्रदान गरिएको छ।
उक्त अस्पतालका कर्मचारीहरु रमेश श्रेष्ठ, उषा घिमिरे, शिर्षक शाही, शर्मिला थापा र दन्त विभागका डा अनिशा खड्का, डा एलिना खिम्बाजा, डा मोनिषका प्रधान र डा सलिन पोखरेलले सेवा दिएका थिए।
श्री राजकुलेश्वर आधारभूत विद्यालयबाट ७५, एपेक्स मन्टेश्वरी प्राइमरी विद्यालयबाट १०५ र श्री तिखातल प्राथमिक विद्यालयबाट ५१ जना विद्यार्थीहरुले दन्त जाँच गराएका थिए।
समय–समयमा दाँतको परीक्षण नगराए दाँत कुहिएर दाँत नै निकाल्नुपर्ने अवस्था आउने डा खड्काले बताए।