काठमाडौं- कुनैबेला क्यान्सर ह्याज एन्सर? (क्यान्सरको उपचार छ?) भनेर प्रश्न गर्दा 'नो' (छैन) भन्नुपर्ने अवस्था रहेकोमा अहिले क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ) भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन्।
नेपाल क्यान्सर सपोर्ट ग्रुपले नगरकोटमा गरेको ३० औं सुदीप्त क्यान्सर सर्भाइबर मिटमा क्यान्सर निको भएका व्यक्तिहरुले क्यान्सरको उपचार सम्भव भएको बताए। क्यान्सरको उपचारका लागि सुरुमै पहिचान हुनुपर्नेमाथि जोड दिंदै उनीहरुले नेपालमै अन्तराष्ट्रियस्तरको क्यान्सरको उपचार हुने जनाए। त्यसकारण क्यान्सर भएकाहरुले आ-आफनो मनोवल नगिराउन उनीहरुले सल्लाह दिए।
नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष दीलिप भट्टराईले क्यान्सरबारेको जनचेतना अझै व्यापक बनाउनुपर्ने आवश्यकता औंल्याए। क्यान्सरको पहिलो उपचार नै मनोबल रहेको भन्दै उनले मनोबल उच्च राख्न सवै बिरामीलाई सल्लाह दिए।
नेपाल क्यान्सर सपोर्ट ग्रुपका उपाध्यक्ष एवं सुदीप्त क्यान्सर सर्भाइबर मिटका संयोजक स्वरुपा श्रेष्ठले क्यान्सरको उत्तर रहेको भन्दै खुशीसाथ जीवन विताउन सुझाइन्। क्यान्सर रोग निको हुने रोगमा रहेको भन्दै उनले ठीक समयमा नेपालमै उपचार गरेर खुशीसाथ नयाँं जीवन जिउन सवैलाई सुझाव दिंदै क्यान्सर रोग निको हुने रोग रहेको जनाइन्।
नेपाल क्यान्सर सपोर्ट ग्रुपका अर्का उपाध्यक्ष शशांक शर्माले आफूले क्यान्सर रोगको नेपालमै उपचार गरी निको भएको २१ वर्ष भएको अनुभव सुनाउँंदै नेपालमै अन्तर्राष्ट्रियस्तरको उपचार हुने अस्पताल रहेको जनाए। महासचिव गणेशभक्त श्रेष्ठले ग्रुपले निरन्तर सचेतना कार्यक्रम गरिरहेको र त्यसलाई निरन्तर व्यापक रुपमा लैजाने योजना रहेको सुनाए।
कार्यक्रममा २५ वर्ष भन्दा वढी सयमदेखि क्यान्सरलाई परास्त गरी रोगबाट मुक्त भएका दजर्नाै व्यक्तिहरुले क्यान्सर हुनबाट सचेत हुनुपर्ने तर भइसकेपछि डराउनुपर्ने अवस्था नरहेको अनुभव सुनाए।
उनीहरुले क्यान्सर भएपछि उपचार गर्नुभन्दा हुनै नदिनमा विशेष सचेतना अपनाउन सुझाए। कार्यक्रममा क्यान्सरलाई परास्त गरी स्वस्थ्य जीवन बाँंचिरहेका झण्डै तीन दर्जन व्यक्तिहरुले आआफनो अनुभव सुनाउँदै क्यान्सर भए पनि निको हुने र मनोबल उच्च राख्न र यसबाट नडराउन अनुरोध गरे।