काठमाडौं- पेडियाट्रिक आस्थमा एलर्जी इम्युनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपाल ‘प्याइप्सन’ र नेपाल मेडिसिटी अस्पतालको संयुक्त आयोजनामा बालबालिकाहरुमा हुने एलर्जी र दमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। शनिबार ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा सम्मेलन सम्पन्न भएको हो।
एलर्जी एक रोग हो र यसले गर्दा मानिसको जीवनमा दीर्घकालीन असर पर्नसक्छ भन्ने जनचेतना सर्वसाधारण र स्वास्थ्यकर्मीहरुमा न्युन भएकाले जनचेतना अभिवृद्धि गर्न र सही डाक्टरबाट बिरामीले उपचार सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले एलर्जी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको मेडिसिटी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जयचन्द्र बज्राचार्यले जानकारी दिए। एलर्जी शरीरका विभिन्न अंगमा नाक कान घाँटी, फोक्सो, पेट, आँखा आदिमा हुन सक्छ।
सहि उपचार नपाए बिरामीको जीवन कस्टकर मात्र नभै कडा भएका कारण मृत्यु समेत हुनसक्ने विज्ञहरुमा अनुभव छ। नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा उपेन्द्र महतो , प्याइप्सनका अध्यक्ष डा महेशकुमार गौतम, मेडिसिटी अस्पताल बोर्डका सल्लाहकार नविन कुमार, क्लिनिकल सर्भिसेज र एडुकेसनका प्रमुख डा नीलमणी उपाध्याय, नाक, कान, घाँटी रोग विभागका प्रमुख डा तोरण केसीलगायतको मुख्य उपस्थितीमा आयोजना गरिएको कार्यक्रम भौतिक रुपमा र अनलाइन दुवै रुपमा सञ्चालन भएको छ।
कार्यक्रममा अमेरिकाका एलर्जी विशेषज्ञ डा पीके वेदान्तन र डा विनय मेहताले अनलाइन प्रस्तुति छ भने भारतका प्रसिद्ध नाक, कान, घाँटी रोग विशेषज्ञ तथा एलर्जी विशेषज्ञ र बालरोग विशेषज्ञलगायतको उपस्थिती कार्यक्रममा रहेको थियो।
बालबालिकाहरुमा समयमानै एलर्जीको पहिचान र त्यसको उपचारका विषयमा मूख्यत केन्द्रित रहेकोे यस कार्यक्रमले नेपालको मात्र नभइ भारत र अन्य मुलुकहरुको अवस्थाबारे समेत बुझ्ने अवसर प्रदान गरेको आयोजकले दावी गरेको छ। सम्मेलनमा देशभरका विभिन्न स्थानका करिब १ सय डाक्टरहरुको उपस्थिती रहेको थियो।