काठमाडौं- उदयपुर अस्पताल, गाईघाटमा हाडजोर्नीको ५३ औँ शल्यक्रिया सफलतापुर्वक सम्पन्न भएको छ। आईतबार सिरहा जिल्ला मिर्चैयाकी १७ वर्षिया विनिता यादवको कुहिनाको हड्डी भाँचिएको शल्यक्रिया सफलतापुर्वक भएसँगै ५३ औ शल्यक्रिया सम्पन्न भएको हो।
गत पौष मसान्तमा अस्पतालमा छात्रवृद्धि करार चिकित्सकका रुपमा अस्पतालमा सेवा प्रदान गर्न आएका हाडजोर्नी विशेषज्ञ चिकित्सक डा शशि रन्जन प्रधानको नेतृत्वको स्वास्थ्यकर्मीको समूहले पाँच महिनाको अवधिमा ५० जना भन्दा बढी बिरामीहरुका लागि शल्यक्रिया सेवा दिएको अस्पताल प्रसाशनका अधिकृत वृख बहादुर खत्रीले बताए।
सिमित स्रोत साधन तथा अत्याधुनिक उपकरणहरु सहितको शल्यक्रिया कक्षको अभावकाबीच डा प्रधानको सक्रियतामा अस्पतालले हाडजोर्नीको शल्यक्रिया सेवा सुरु गरेको थियो।
हालसम्म भाँचिएको क्ल्याभिकलको, नलिखुट्टा फुटेको र भाँचिएको घुँडाको, दुबै हड्डीे भाँचिएको हातको अप्रेशन लगाएतका शल्यक्रियाहरु सफलतापूर्वक सम्पन्न भई केही बिरामीहरु निको समेत भईसकेको अस्पतालले जनाएको छ।
पर्याप्त उपकरणहरु र तालिम प्राप्त स्वास्थ्यकर्मीहरु उपलब्ध हुन सके अझै धेरै बिरामीहरुलाई सेवा दिन सकिने डा प्रधान बताउँछन्।
अन्य अस्पतालहरु भन्दा कम खर्चमा नजिकको अस्पतालमा नै हाडजोर्नि शल्यक्रिया सहितको विशेषज्ञ सेवा सुरु भएपछि उपचारका लागि धरान र विराटनगर धाउनुपर्ने बाध्यता हटेको र अस्पतालले आफ्ना सेवा लाई दीर्घकालीन रुपमा स्थापित गर्न लागिपरेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डण्ट डा मुकेश कुमार झाले जानकारी दिए।
अस्पतालले हाल ८ जना विशेषज्ञ चिकित्सकहरुसहित आइसीयु, मेजर र प्रसूति शल्यक्रिया, विशेषज्ञ दन्त सेवा, स्वास्थ्य बीमा, सामाजिक सेवा इकाई,अत्याधुनिक उपकरण सहितको प्रयोगशाला र एक्सरे सेवा, अक्सिजन प्लान्ट, बायोमेडिकल सेवा लगाएत अस्पतालका अन्य नियमित सेवाहरु प्रदान गरिरहेको छ।