काठमाडौं– संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाकै मातृभाषामा बोलेर सांसद दीपक प्रकाश भट्टले सुदूरपश्चिम चिकित्सा विश्वविद्यालयको माग गरेका छन्।
केही दिनअघि बालुवाटार पुगेर ध्यानाकर्षण पत्र बुझाएका भट्टले प्रतिनिधि सभामा गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वुविद्याल बनाउनुपर्ने माग राखे।
प्रतिनिधि सभाको सोमबारको बैठकको शुन्य समयमा बोल्दै उनले उक्त माग पूरा नभए अखण्ड सुदूरपश्चिमको झल्को दिनेगरी आन्दोलन गर्ने तयारी भइरहेको बताए।
उनले डोटेली भाषामा भने, 'गेटामा राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनकी लेखा (बनाउनका लागि) संघर्ष थालिरैछ। हाम्लेट माग हर्या् (गरेको) सम्बोधन नाइभयो (भएन)। देवराज पाण्डेको संयोजकत्वमा आनन्द भट्ट र धर्म रोकायाको सहसंयोजकत्वमा संघर्ष समिति बनिरइछ (बनेको छ)। बेली (हिजो) सुदूरपश्चिमले गरेको अखण्ड सुदूरपश्चिम आन्दोलनको झल्को दिनका लेखा (दिनका लागि) तयारी गरिरैछ (गरिँदैछ) । सुदूरपश्चिममा पहिलो राष्ट्रिय चिकित्सा विश्व विद्यालय बनाउनाकी लेखा (बनाउनका लागि) सुदूरपश्चिमका जनता तमीतिर आँखा फर्काइबर (फर्काएर) हेरिर्याछन्।'
पाँचौपटकसम्म प्रधानमन्त्री हुँदा सुदूरपश्चिम र त्यहाँका बासिन्दा खुसी भएको बताउँदै सांसद भट्टले त्यही खुसी त्यहाँका जनतालाई दिन उनले माग गरे।
यस्तो छ उनको भनाइ
हाम्ले ध्यानाकर्षण गरायाथ्यौं प्रधानमन्त्रीज्यू। सुदूरपश्चिममा तम्लाई पाँचौपटक प्रधानमन्त्री हुन्ज्या सबैले खुसी व्यक्त गर्यो। सामाजिक सञ्जालमा लै तमी भाइरल भया। गेटामा राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनकी लेखा संघर्ष थालिरैछ। हाम्ले माग हर्या सम्बोधन नाइभयो। देवराज पाण्डेको संयोजकत्वमा आनन्द भट्ट र धर्म रोकायाको सहसंयोजकत्वमा संघर्ष समिति बनिरइछ।
बेली सुदूरपश्चिमले अखण्ड सुदूरपश्चिमको झल्को दिनका लेखा तयारी गरिरैछ। सुदूरपश्चिममा पहिलो राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनाकी लेखा सुदूरपश्चिमका जनता तमीतिर आँखा फर्काइबर हेरिर्याछन्। यो मागकै रुपमा तमीले सम्बोधन गर्नु पणन्छ।