काठमाडौं- काठमाडौं महानगरले जनस्वास्थ्य ऐन जारी गर्ने नीति लिएको छ।
स्वास्थ्य नीतिमा वडा क्लिनिकको स्तरोन्नति गरी स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्ने, करदातालाई बीमाका लागि आवश्यक प्रबन्ध मिलाउने जसका लागि कामपाले ५० प्रतिशत अनुदान दिने, विपन्नलाई निःशुल्क श्ययाको प्रबन्ध गर्ने र आयुर्वेद पद्धतिलाई प्रवद्र्धन गर्नेलगायत नीति छन्।
स्वास्थ्य सेवाको गुणस्तर र पहुँच अभिवृद्धि गर्नका लागि महानगर जनस्वास्थ्य ऐन जारी गर्ने महानगरको नीति रहेको छ। नागरिक आरोग्यता प्रवद्र्धन गर्न आहार, विहार, ध्यान, योग, प्राणायाम आदिबारे सचेतना फैलाउने, एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने, एक विद्यालय एक नर्स र स्कूल सोसियल वर्कर कार्यक्रम रहेका छन्।
प्लाष्टिक झोला निषेध
कामपाले आगामी आर्थिक वर्षदेखि प्लाष्टिक झोला निषेध गर्ने नीति लिएको छ। त्यसैगरी कागज तथा कपडाका झोला प्रवद्र्धन गर्ने, पार्क निर्माण गर्ने हरियाली बढाउनेजस्ता विषय नीतिमा उल्लेख छ। त्यसैगरी फोहर व्यवस्थापन तथा प्रदूषण नियन्त्रणसम्बन्धी नीतिमा फोहरको वर्गीकरणमा प्रोत्साहन गर्ने, जिरो वेस्ट, वेस्ट टु इनर्जीजस्ता अवधारणाबाट वातावरणीय सुधार तथा फोहर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिने विषय समेटिएका छन्।
फोहरको उत्पादन कम गर्ने, फोहर सङ्कलन, ढुवानी तथा अन्तिम व्यवस्थापनलाई सहज बनाउने, अदालतका निर्देशनात्मक आदेशलाई कानून बनाएर कार्यान्वयन गर्ने, शतप्रतिशत जमिन घरले नओगटेका घरमा ‘एक घर, एक रुख’ नीतिअनुरुप कार्यक्रम सञ्चालन गरिनेछ।