काठमाडौं– काठमाडौं उपत्यकामा जारको पानी समेत नक्कली हुने गरेको पाइएको छ। कम्पनी नै नभएकोहरुले अन्य कम्पनीको ट्रेडमार्क चोरी गरेर पानी बेच्ने गरेको भेटिएको हो।
कम्पनी नै नभएकाहरुले स्पार्कलंग स्प्रिङ्लर कम्पनीको ट्रेडमार्क चोरी गरेर पानीको जार बेच्दै आएको पाइएको छ। यसरी ट्रेडमार्क चोरी गरेर पानी बेच्ने गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
प्रहरी वृत्त कालिमाटीले सर्लाहीको लालबन्दी नगरपालिका–५ घर भइ काठमाडौंको कलंकी बस्ने २५ वर्षीय आशिष कार्की र चितवन रत्ननगर नगरपालिका–१३ घर भइ कालिमाटी बस्ने २६ वर्षीय किरण श्रेष्ठलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले जानकारी दिए।
उनीहरुले बिक्री गरेको पानी समेत गुणस्तरहीन हुनसक्ने भन्दै यसको जाँच समेत गर्नुपर्ने प्रहरीले जनाएको छ।
यसरी नक्कली पानी बेच्ने गरेकाहरुबाट पानी बोक्न प्रयोग भएको दुई वटा गाडी र स्पापार्कलंग स्प्रिङ्लर कम्पनीको स्टिकर टाँसिएको १९७ थान जार बरामद भएको छ।