काठमाडौं- तालिमको शिलशिलामा भारतमा रहेका नेपाल चिकित्सक संघका प्रतिनिधि र भारतको नेशनल हेल्थ सिस्टमका पदाधिकारीबीच छलफल भएको छ।
नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्की, कार्यसमितिका पधाधिकारी, प्रमुख प्रशासकिय अधिकृत, अनुसन्धान अधिकृत र भारतिय नेशनल हेल्थ सिस्टम रिसोर्सका कार्यकारी निर्देशक मेजर जरनल प्राडा अतुल कोतवाल, पुर्व कार्यकारी निर्देशक डा सन्जय कुमार तथा स्नातकोत्तर चिकित्सा शिक्षा संस्थानका हेल्थ मेनेज्मेन्ट प्रमुख तथा कोर्ष डाइरेक्टर सोनु गोएलसँग संयुक्त छलफल भएको हो।
छलफलमा भारतमा आयोजित तालिम प्रभावकारी रहेको र यस्तो तालिम नेपालमा पनि गर्न दुबै पक्षले सहकार्य गर्ने सहमती भएको छ। छलफलमा नेपाल र भारतका स्वास्थ्य समस्या एउटै किसिमका भएकोले समाधान गर्न जेएनएमएको नेतृत्वमा अनुसन्धान गर्ने सहमति भएको संघका उपाध्यक्ष डा अनिल बिक्रम कार्कीले जानकारी दिए।
छलफलका क्रममा ह्युमन रिसोर्स, कम्युनिटी पार्टीसिपेसन, हेल्थ फाइनान्स लगाएतका विषयमा अनुसन्धान गर्ने पनि सहमती भएको छ।
छलफलमा स्नातकोत्तर चिकित्सा शिक्षा संस्थानमा फेलोसीपका लागि नेपाल चिकित्सक संघले गरेको आग्रहमा संस्थानका प्रमुख प्राडा सोनुले आफूहरु संस्थानमा फेलोसीपको व्यवस्था गर्न तयार रहेको बताए।
नेशनल हेल्थ सिस्टम रिसोर्सका कार्यकारी निर्देशक मेजर जरनल प्राडा कोतवालले कोरोनाको समयमा नेपाल चिकित्सक संघले खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यले चिकित्सकहरुको मनोबल बढ्ने बताए।
नेपाल चिकित्सक संघको पहलमा पहिलो चरणमा तालिम लिन नेपालका ४६ जना चिकित्सक भारतको चण्डीगढ पुगेका छन्। आइतबार चण्डीगढ पुगेका ४६ जनाको तालिम आजबाट सुरु भएको छ
तालिमको औपचारिक सुरुवात नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले गरेका छन्। संघको पहलमा नेपालका १५ सय चिकित्सकले भारतमा तालिम लिन पाउने छन्। पहिलो चरणमा ४६ जना तालिममा सहभागी भएका हुन्।