काठमाडौं- सरकारले काठमाडौंका ५ देखि १२ वर्ष मुनिका १ लाख ९० हजार बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर-बायोएनटेक खोप लगाउँदैछ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले बुधबार पत्रकार अन्तरक्रिया गरी यही असार ९ देखि काठमाडौं भित्रका १ लाख ९० हजार बालबालिकालाई खोप लगाउन लागेको जानकारी दिएको छ।
एक साताभित्र काठमाडौं जिल्ला भित्रका सबै बालबालिकालाई खोप लगाइसक्ने लक्ष्य रहेको कार्यालय प्रमुख वसन्त अधिकारीले बताए। खोप लगाउनका लागि काठमाडौंभित्र १३ सय खोप केन्द्र स्थापना गरिएका छन्। कोभिड-१९ विरुद्धको उक्त खोप सुरक्षित भएकाले आफ्ना बालबालिकालाई ढुक्क भएर लगाउन उनले सबैलाई आग्रह गरेका छन्।
उनले भने, ‘यो खोप सुरक्षित छ। डब्लुएचओ र औषधि व्यवस्था विभागले स्वीकृति दिइसकेको खोप भएकाले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गर्छौ।’
खोप अभियानका लागि स्थानीय तहलाई जिम्मेवारी दिएपनि समन्वय र सहजकर्ताको काम आफुहरुले गरिरहेको उनले बताए।
उक्त खोप २१ दिनको फरकमा दुई मात्रा लगाउनुपर्ने हुन्छ। सही तरिकाले खोप लगाए यसको प्रभावकारिता ९१ प्रतिशत हुने बताइएको छ।
सरकारले पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ। दोस्रो चरणमा ५० जिल्लामा ५ देखि ११ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ।
फाइजर बायो-एनटेक खोप १२ वर्ष माथि र पाँच वर्ष मुनिका बालबालिकालाई लगाउन मिल्दैन। पहिलो मात्रा लगाएपछि शरीरमा कुनै पनि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया देखिए खोप लगाउन नमिल्ने र प्लाज्मा थेरापीमा भएको व्यक्तिले ९० दिनपछि मात्र खोप लगाउन मिल्ने चिकित्सहरुले बताएका छन्।