काठमाडौं- जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले हैजाको रोकथाम तथा नियन्त्रणका लागि छानबिन टोली गठन गरेको छ। स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको हो। काठमाडौं हैजाको जोखिममा रहेको भन्दै यसको नियन्त्रण तथा रोकथामका लागि टोली गठन गरिएको कार्यालय प्रमुख अधिकारीले बताए।
काठमाडौंमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन पनि यो टोलीले काम गरिरहेको छ। काठमाडौंमा हालसम्म चार जनामा हैजा पुष्टि भएको छ। बागबजारमा हैजा पुष्टि भएका सम्बन्धित ठाउँ र परिवारमा पुगेर उक्त टोलीले खानेपानीको नमूना संकलन गरेको छ। संकलन गरिएको खानेपानीको नमूना परीक्षण गर्ने काम भइरहेको अधिकारीले जानकारी दिए। बागबजारमा पुष्टि भएको हैजाका बिरामीले जार र धारा दुवैको पानी नउमालिकन खाने गरेको पाइएको थियो। अन्य ठाउँमा भने पानीको नमूना संकलन गर्न उक्त टोली आज जाँदैछ।
प्रमुख अधिकारीले भने, ‘हैजा लगायत महामारीजन्य रोगको नियन्त्रण र छानबिन गर्न टोली गठन गरेका छौँ। काठमाडौंमा के कारणले हैजा फैलिएको हो र कसरी नियन्त्रण गर्ने भन्ने बारेमा छानबिन हुन्छ।’
हैजा नियन्त्रणका लागि काठमाडौं महानगरपालिकासँगको समन्वयमा खानेपानीको शुद्धिकरण, खानेकुरासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम गरिरहेको कार्यालयले जनाएको छ।
बुधबार नै ट्यांकर व्यवसायी र जारको पानी वितरकहरुसँग छलफल गर्न लागिएको अधिकारीले बताए। खानेपानी उमालेर मात्र खान र बासी खानेकुरा नखान कार्यालयको सबैमा आग्रह छ। हैजाको जोखिम बढेकाले हैजाको रोकथाम तथा नियन्त्रणका लागि आफूहरु गम्भीर रहेको उनले बताए।
‘हैजा पुष्टि भएका ठाउँमा मात्र होइन। हैजाको संभावित लक्षण भएकाहरुको पनि खोजी गरिरहेका छौँ। झाडापखालाको बिरामी बढ्दो छ। तर सबै झाडापखाला हैजा हुँदैनन्। तर काठमाडौं हैजाको जोखिममा भने छ।’ उनले भने।