काठमाडौं– झापाको बीएण्डसी अस्पताल र विराटनगरको नोबेल मेडिकल कलेजले यही असार २० गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने जनाएका छन्। स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितको उपचार सेवावापतको रकम लामो समयदेखि आफूहरुले नपाएको भन्दै त्यसका सञ्चालकहरुले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको सेवा सञ्चालन नगर्ने जनाएका हुन्।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले मंसिरयता आफ्नो अस्पतालले बीमा कार्यक्रमवापत पाउनुपर्ने ४५ करोडभन्दा बढी रकम रोकिएको बताए। रकमका लागि स्वास्थ्य बिमा बोर्डमा ताकेता गरे पनि ३ महिनादेखि भोलि, पर्सी, अर्को हप्ता भनेर जवाफ दिइने गरिएको उनले बताए।
यस्तै, नोबेल मेडिकल कलेजका भीमबहादुर चन्दले नोबेलमा पनि दैनिक १ हजार ५ सयभन्दा बढी बिरामीले बिमाअन्तर्गत सेवा लिन गरेको बताए। उनका अनुसार नोबेलले पनि मंसिरयता ५४ करोड ३८ लाख रुपैयाँ बिमा कार्यक्रमअन्तर्गत लिन बाँकी छ।
चन्दले आफूहरुको पैसा रोकिँदा कलेजले ३ महिनादेखि कर्मचारी तथा प्राज्ञिक जनशक्तिलाई तलब खुवाउन नसकेको र यसको असर पठनपाठनमा पनि पर्ने उल्लेख गरे। यसअघि रकम भुक्तानी नपाएको भन्दै काठमाडौंको शिक्षण अस्पतालले पनि स्वास्थ्य बिमा कार्यक्रम बन्द भएको घोषणा गरिसकेको छ।