काठमाडौं- पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगरका मेयर धनराज आचार्यले बुधबार नगरसभामा नीति तथा कार्यक्रम पेश गरेका हुन्।
नीति तथा कार्यक्रममा शिशुवा अस्पताललाई विशिष्टीकृत अस्पतालको रुपमा विकास गर्नेदेखि ४ वर्ष भित्रमा एक सुविधा सम्पन्न मेट्रो अस्पताल निर्माण गर्न आवश्यक कदम अघि बढाइने उल्लेख छ। त्यसैगरी कास्कीकोटमा महानगरीय आरोग्य धाम स्थापना र ४० वर्ष माथिको उमेर समुहका सबै नागरिकहरुको आधारभुत निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने बताइएको छ।
'आधारभुत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्दै स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाइनेछ,' नीति तथा कार्यक्रममा भनिएको छ, 'महानगरका तेत्तीस वटै वडाहरुमा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना र सञ्चालन गर्ने नीति लिइनेछ।'
महानगरको एकमात्र अस्पताल, शिशुवा अस्पतालमा विशिष्टीकृत अस्पतालको रुपमा विकास गर्ने महानगरको लक्ष्य छ। आगामी ४ वर्ष भित्रमा एक सुविधा सम्पन्न मेट्रो अस्पताल निर्माण गर्न आवश्यक कदम अघि बढाइने, जन्मदर्तालाई सुत्केरी पोषणसँग अन्तरसम्बन्धित गरी ६ महिनासम्म न्युन आय भएका सुत्केरी महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराइने उल्लेख छ।
यस अन्तर्गत कानूनले तोकेको म्यादभित्र व्यक्तिगत घटना दर्ता गर्ने विपन्न, न्युन आय भएका र सीमान्तकृत नागरिकहरुलाई जन्मेको २ वर्षसम्म पोषणभत्ता उपलब्ध गराउने र विवाह तथा मृत्यु दर्ता वापत प्रोत्साहन रकम उपलब्ध गराइने बताइएको छ।
ज्येष्ठ नागरिक स्वास्थ्य सेवा संचालन गरी निशुल्क स्वास्थ्य परीक्षण, उपचार परामर्श, नर्सिङ सेवा, डाक्टर ईन कल जस्ता सुविधा समावेश गरिने पाि कार्यक्रममा समेटिएको छ।
पोखरा महानगरको नीति तथा कार्यक्रम