काठमाडौं- 'सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार-२०७९' बाट नागरिक दैनिककी स्वास्थ्य पत्रकार पवित्रा सुनार पुरस्कृत भएकी छिन्।
विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय सुनार ३० हजार रुपैयाँ राशी र प्रमाणपत्रसहित पुरस्कृत भएकी हुन्। सुदर्शन शारदा देवकोटा स्मृति फाउण्डेसनले स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको सहकार्यमा उक्त पुरस्कारको स्थापना गरेको हो। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ र फाउण्डेसनी अध्यक्ष डा सुधा देवकोटाले काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त पुरस्कार हस्तान्तरण गरे।
स्वास्थ्य पत्रकारितामा योगदान दिएको भन्दै सुनारलाई उक्त पुरस्कार प्रदान गरिएको फाउण्डेसनकी अध्यक्ष डा देवकोटाले बताइन्।
स्वास्थ्य राज्यमन्त्री खापुङले पत्रकारहरुले जोखिम मोलेर विभिन्न समयमा काम गरेको भन्दै प्रशंसा गरे। स्वास्थ्य क्षेत्रमा अझै पनि अग्रसर भएर कलम चलाउन राज्यमन्त्री खापुङको आग्रह थियो।
फाउण्डेसनकी अध्यक्ष देवकोटाले स्वर्गीय बुवा सुदर्शन देवकोटाको सम्झनामा वर्षेनी उक्त पुरस्कार प्रदान गरिने बताइन्। बुवाबाट प्रेरित भएका कारण पत्रकारिता क्षेत्रको महत्व बुझेको र पत्रकारिताको सम्मान स्वरुप उक्त पुरस्कार स्थापना गरिएको उनले बताइन्।
स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानले यस किसिमको पत्रकारिता पुरस्कारले पत्रकारहरुलाई काम गर्न थप हौसला मिल्ने बताए। यसअघि एपीवान टेलिभिजनकी स्वास्थ्य पत्रकार सपना पौडेल उक्त पुरस्कारबाट पुरस्कृत भएकी थिइन्।