काठमाडौं- एमाले सांसद विमला विश्वकर्माले स्टाफ नर्स र अनमी कोर्ष पढेका विद्यार्थीहरुलाई एउटै दर्जामा राखि सेवा, सुविधा दिनेगरी नीतिगत व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद स्टाफ नर्स र अनमी कोर्ष पढेका विद्यार्थीहरुले एउटै प्रकृतिको काम भए पनि प्राप्त गर्ने सेवा सुविधामा विभेद भएको भन्दै स्टाफ नर्स र अनमी कोर्ष पढेका विद्यार्थीहरुलाई एउटै दर्जामा राखि सेवा, सुविधा दिनेगरी नीतिगत व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयसँग माग गरिन्।
'एसएलसी पास गरी गरिने स्टाफ नर्स कोर्ष र अनमी कोर्ष पढ्ने विद्यार्थीहरुले एउटै प्रकृतिको काम र जिम्मेवारी बहन गर्नुपर्छ,' उनले भनिन्, 'कामको प्रकृति एउटै भएपनि कार्यक्षेत्रमा गरिने व्यवहार, प्राप्त हुने सेवा सुविधामा भने पुरै विभेद रहेको छ। तसर्फ सेवा अवधिभित्रै आन्तिरिक वृत्तिविकास गरी स्टाफ नर्स सरह बन्ने र देश तथा विदेशमा काम गर्दा एउटै दर्जामा राखी मर्यादित काम र सेवा,सुविधा प्राप्त गर्ने गरी स्वास्थ्य मन्त्रालयले नीतिगत व्यवस्था मिलाइदियोस्।'
नेकपा (एकीकृत समाजवादी) कि सांसद लक्ष्मीकुमारी चौधरीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्ने बताइन्। उनले नागरिकता विधेयक र संघीय निजामती ऐन छिटो ल्याउन सरकारको ध्यानाकर्षण गराइन्।