बाँके- नेपालगञ्ज उपमहानगरपालिका, खजुरा र डुडुवा गाउपलिकाहरुले विश्वका चिकिसक (एमडिएम फ्रान्स) र जीआईजेड प्राविधिक तथा आर्थिक सहयोग साथै स्थानीय साझेदार संस्था भेरी वातावरणीय विशिस्टता समूह (बी ग्रुप) सँगको सहकार्यमा पेशागत र वातावरणीय सहयोग कार्यक्रम अन्तर्गत नगरपालिकाका औपचारिक र अनौपचारिक क्षेत्रमा आबद्ध सरसफाइकर्मी र अगुवा कृषकहरुका लागि पेशागत सुरक्षा र विषादी प्रयोगले स्वास्थ्य पार्ने असर र रोकथामबारे जनचेतनामूलक तालिम कार्यक्रम संचालन गरेको छन्।
बी ग्रुपका परियोजना संयोजक इन्द्रजीत सुनारका अनुसार सरसफाईकर्मीहरुको जोखिमपूर्ण पेशागत अबस्था र किसानहरुमा अत्याधिक विषादीसँगको संसर्ग हुने भएका कारण उनीहरुलाई सुरक्षित पेशागत व्यवहार र समुचित विषादी प्रयोगबारे जानकारी दिइएको हो। अगुवा कृषक र सरसफाईकर्मीहरुलाई सिकाइएको ज्ञान आफ्नो साथी सहकर्मी, समूहलगायत समुदायमा संचार गर्न महत्वपूर्ण भूमिका रहने र पेशागत जोखिम न्यूनीकरणका साथै उपभोक्ताको स्वास्थ्यमा सकारात्मक प्रभाब पर्नसक्ने भएका कारण उनीहरुलाई तालिम दिइएको उनले जानकारी दिए।
उक्त तालिम कार्यक्रममा बोल्दै खजुरा गाउपलिकाका नवनिर्वाचित अधक्ष्य डम्बर बिकले दैनिकरुपमा उपभोग हुने तरकारी र खाने खाद्यन्नको सुरक्षित र विषादीरहित उत्पादन हुनुपर्ने कुरामा कुनै पनि दुविधाहरु नराख्ने र कृषक र उपभोक्ताको स्वास्थ्यमा सकारात्मक प्रभाव राख्ने प्रबर्द्धनात्मक कार्यमा आफ्नो स्थानीय तहको पूर्ण सहयोग हुने कुरा जानकारी गराएका थिए।
उनले परियोजनासँग सहकार्य गर्ने विषयमा आफू खुला रहेको प्रतिबद्धता ब्यक्त गरेका थिए। त्यसैगरी डुडुवा गाउपलिकाकी उपप्रमुख साहिदा बानोले कृषकहरु त्यसमा पनि तरकारी उत्पादन पेशामा संलग्न कृषकहरु साथै उनीहरुको परिवारमा विषादीको तत्कालिन र दीर्घकालिन असरहरुबाट पिडित भैरहेको हुँदा यो परियोजनाले उनीहरुको सशक्तिकरणमा महत्वपुर्ण भुमिका खल्ने विश्वास ब्यक्त गरिन्। यसैगरी नेपालगंज उपमहानगर पालिकाका मेयर प्रशान्त बिस्टले सरसफाईकर्मीहरुले नगर सफा र सुरक्षित राख्नमा अहम भूमिका निर्बाह गरेको र आगामी आवको बजेट तथा कार्यक्रममा उनीहरुको पेशागत सुरक्षाका लागि पीपीई र स्वास्थ्य बीमाको लागि पहल गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए।
तालिम कार्यक्रममा हाल बाँकेमा सरसफाई कर्मी र कृषकहरुको पेशागत अवस्था, फोहोर व्यवस्थापन र वर्गिकरण अभ्यास र विषादी प्रयोगको अवस्था के कस्तो छ, रासायनिक विषादीको विकल्पमा के कस्ता उपायहरु हुन्छन्, विषादीले स्वास्थ्यमा के कस्ता असर गर्दछ र आफ्नो परिवार र समुदायलाई यस विषयमा सचेतीकरण गर्न अगुवा कृषक र सरसफाईकर्मीहरु के कस्ता भूमिका निर्वाह गर्न सक्छन् जस्ता विषयवस्तुहरु समेटिएका थिए।
विश्वका चिकत्सकहरु नामक संस्थाका कार्यक्रम प्रबन्धक बसन्त थापाका अनुसार सरसफाईकर्मी र अगुवा कृषकहरुका लागि आयोजना गरेको उक्त तालिम वातावरणिय र पेशागत जोखिम न्यूनीकरण अभियानका विभिन्न क्रियाकलापहरुमध्येको एउटा क्रियाकलाप भएको जानकारी दिए।
उक्त्त परियोजनाले चार वटा विशिस्ट लक्षहरु जस्तै सरसफाईकर्मी र कृषकहरुको पेशागत जोखिम न्यूनीकरण गर्नको लागि क्षमता विकास गर्ने, व्यहार परिवर्तनमा जोड दिने, गुणस्तरीय र पेशागत स्वास्थ्य सेवामा लक्षित समुहको पहुच बढाउन स्थानीय सरकारी स्वास्थ्य संस्थाको क्षमता प्रबर्धन गर्ने, सरोकारवाला निकायहरुसँग समन्वय, छलफल सहकार्य र तथ्यपरक अनुसन्धान कार्य गर्ने साथै सरसफाईकर्मी र किसानहरुको पेशागत र विषादीको जोखिम न्यूनीकरण गर्न विकल्पहरु अवलम्बनका लागि लक्षित समुहकालागि प्राविधिक तालिम अनुदान कार्यक्रमहरु पनि समाबेश गरिएको जानकारी दिए।
साथै यस्ता कार्यक्रमहरु स्थानीय सरकारसँगको संयुक्त आयोजनामा विश्वका चिकित्सकहरुले बाँके लगायत अन्य जिल्लाहरुमा पनि थालनी गर्ने योजना रहेको जानकारी दिए।