काठमाडौं- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य राष्ट्रहरुमा रहेका चिकित्सक संघहरुको बैठक नेपालमा हुने भएको छ। भारतमा तालिमका लागि पुगेका नेपाली चिकित्सकहरुसँगको छलफलपछि बैठक नेपालमा गर्ने निर्णय भएको हो।
नेपाल चिकित्सक संघका उपाध्यक्ष डा अनिलविक्रम कार्कीका अनुसार बैठक आगामी सेप्टेम्बरमा हुने निर्णय भएको छ। सार्क चिकित्सक संघको अध्यक्ष भारत हो भने नेपाल उपाध्यक्ष हो।
नेपाल चिकित्सक संघको पहलमा भारतको चण्डीगढमा संघका पदाधिकारीसहितका ४६ जना चिकित्सक तालिम लिइरहेका छन्।
चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीको नेतृत्वमा आइतबार ४६ जना चिकित्सक एक हप्ते तालिमका लागि भारत पुगेका हुन्। संघको पहलमा १५ सय चिकित्सकलाई भारतमा तालिमका लागि अवसर जुटेको हो। जसअन्तर्गत पहिलो चरणमा ४६ जना भारत गएका हुन्।