काठमाडौं- गेटा मेडिकल कलेजलाई अब राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रुपमा रुपमा अगाडि बढाउनका लागि संसदीय समितिमा छलफल गर्न माग गरिएको छ। सांसद दीपकप्रकाश भट्टले सरकारको ध्यानाकृष्ट गर्नका लागि छलफल गर्न मागसहित निवेदन दर्ता गराएका छन्।
उक्त कदमबाट सुदूरपश्चिमको स्वास्थ्य सेवामा ठूलो योगदान पुर्याउन सकिने उनले बताएका छन्। भनेका छन्, 'कैलालीमै रहेको सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, बयालपाटा अस्पताल र डडेल्धुरामा रहेको संघीय अस्पतालका अन्य जिल्ला अस्पतालहरुलाई समेत विश्वविद्यालयअन्तर्गत आंगिक मेडिकल संस्थानका रुपमा सञ्चालन गर्न सकेमा त्यसले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्ने देखिन्छ।'
यसबाट जनशक्ति उत्पादनदेखि नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने उनले बताएका छन्। विश्वविद्यालयको अवधारणामा जाने बित्तिकै त्यसबाट सुरुका वर्षमा केही जनशक्ति अभाव जस्तो देखिए पनि अन्यत्रबाट आउने वातावरण बन्ने उनको बुझाइ छ। विस्तारै त्यही दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने जनाएका छन्।
सुदूरपश्चिम प्रदेशमा एउटा पनि चिकित्सा विद्यालय, महाविद्यालय वा प्रतिष्ठान नभएकाले अब बन्ने नयाँ मेडिकल कलेज वा प्रतिष्ठानले मात्रै दक्ष जनशक्ति उत्पादन गर्न नसक्ने उनले बताएका छन्। 'नेपालको पहिलो राष्ट्रिय चिकित्सा विश्वविद्यालय कैलालीको गेटमा स्थापना गर्ने सम्बन्धमा अति आवश्यक छलफलका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सहितको समितिको बैठक बोलाउन हुनका लागि अनुरोध गर्दछु,' उनले निवेदनमा भनेका छन्।