काठमाडौं- भक्तपुर नगरपालिकाले नगरसभाको १२औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आय र व्ययको विवरण (बजेट) सार्वजनिक गरिएको छ।
नगरपालिकाले ख्वप अस्पतालका लागि अनुदान वापत ८ करोड उपलब्ध गराउने भएको छ।
त्यसैगरी वडा वडामा प्राथमिक स्वास्थ्य उपचार केन्द्र निर्माणका लागि २ करोड ८३ लाख २० हजार रकम विनियोजन गरिएको छ।
नगर उपप्रमुख रजनी जाेशीले प्रस्तुत गरेको बजेटमा क्यान्सर, मुटु, मिर्गौला, मस्तिष्कघात तथा मेरुदण्ड पक्षघात (स्पाइनल कर्ड इन्ज्युरी) जस्ता कडा तथा दीर्घरोग भएका नगरवासी बिरामीहरूलाई प्रतिव्यक्ति १५ हजारका दरले सहयोग गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिईएको छ। जसका लागि ४० लाख विनियोजन गरिएको छ।
यसैगरी क्यान्सर, मिर्गौला रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई मासिक ५ हजारको दरले उपचार खर्चको लागि ९० लाख विनियोजन गरिएको छ। नगरपालिकाका कर्मचारीहरुको स्वास्थ्य उपचार कोषको व्यवस्थालाई निरन्तरता दिइएको बजेटमा उल्लेख छ।