काठमाडौं- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वमा बिरामीको आकर्षण बढ्न थालेको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारु, स्थानिय निकायका जनप्रतिनिधि, मन्त्रालयका महासाखा प्रमुख डा पुष्प राज पौडेल लगायतको उपस्थितिमा गत चैत २४ गते उद्घाटन भएको आयुर्वेद स्वास्थ केन्द्रले आर्थिक वर्षको अन्तिम तिर भएपनी कार्यलयका कामलाई छिटो छरितो रुपमा संचालन गरेको कार्यालय प्रमुख विष्णुहरि आचार्यले बताए।
केन्द्रमा औषधि उपलब्ध भएपछि बिरामीको चाप दिन प्रतिदिन बढ्दो क्रममा छ। विशेषरी बाथ रोगका बिरामी, श्वासप्रश्वासजन्य समस्या, पेटका रोगीहरु, पाइल्स, फिस्टुला, स्त्री रोग समस्या लिएर बिरामीहरु स्वास्थ केन्द्रमा आउने गरेका छन्। स्थानीय बासिहरुका समस्याको पहिचान गरी औषधि उपचार तथा परामर्श दिने गरेको उनले जानकारी गराए।
आफू केन्द्रमा आइसकेपछि दैनिक प्रयोगात्मक योग संचालनको लागि स्थानीय जनप्रतिनिधि, जिल्ला प्रसासन कार्यालय र जिल्ला समन्वय समितिसँग समन्वय गरिरहेको र अब निकट भविष्यमै नियमित योग कक्षा संचालन गरी नसर्ने रोग तथा मानसिक रोग न्युनिकरणमा योगको प्रभावको महत्वको सन्देश आम नागरिकमा बिस्तार गरिने उनले बताए।
उनी योग अभियान्ता पनि हुन्। पहिलो लहर र दोस्रो लहरको कोरोना संक्रमण बडिरहँदा रुपन्देहीस्थित आइसोलेसन र क्वारेन्टाइनमा योग गराइ थुप्रै नागरिकको मनोबल उच्च राख्ने सन्देश प्रवाह गरेको उनीसँग अनुभव छ।