काठमाडौं- शङ्खरापुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ४० करोड ४८ लाख २१ हजारको बजेट पारित गरेको छ। नगरपालिकाको सातौँ नगरसभामा नगर प्रमुख रमेश नापितले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख समिता श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० का लागि बजेटमाथि छलफलसहित पारित भएको हो। नौ वडा रहेको नगरपालिकाले वडावासीका लागि निःशुल्क शिक्षादेखि स्वास्थ्यसम्मका कार्यक्रम स्वीकृत गरेको छ।
नगरसभाले ६० वर्ष माथिका ज्येष्ठ नागरिक तथा गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सुविधा दिने नीति पनि पारित गरेको छ। यस्तै शवबाहन सेवा पनि निःशुल्क गर्ने नीति पारित गरेको शङ्खरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए। नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा दिने, नगरवासीलाई साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल हस्पिटलसँग सम्झौता गरेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने भएको छ।
कक्षा १ देखि ३ सम्म नेपाल भाषा र तामाङ भाषाको पाठ्यक्रम तयार गरी मातृभाषाबाट पठनपाठन गरिनेछ। गर्भवती महिला र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सुविधा दिने, गर्भवती र सुत्केरी आमाका लागि पोषण भत्ता उपलब्ध गराइने भएको छ।
नगरपालिकाभित्र शवबाहन सेवा निःशुल्करुपमा उपलब्ध गराइने, अशक्त तथा ज्येष्ठ नागरिकलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुगेर दिइने, ज्येष्ठ नागरिकका लागि नगरपालिकाको तर्फबाट पोषण भत्ताको व्यवस्था गरिने भएको छ। रासस