काठमाडौं– पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राजीनामा पत्र बुझाएका छन्।
संसदीय दलको बैठक बोलाउनुपर्ने मागबाट हस्ताक्षर फिर्ता लिएका उनले पूर्व प्रतिबद्धता अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र थमाएको उनी निकट स्रोतले जनाएको छ।
उनीसँगै फिर्ता बोलाउने निर्णय गरिएका अन्य स्वास्थ्यमन्त्री विरोध खतिवडासहित तीन मन्त्री भने अझै निर्णयमा पुगेका छैनन्। उनीहरुले छुट्टै छलफल गरिरहेको बुझिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री कृष्णकुमार श्रेष्ठले संसदीय दलको बैठक बोलाउनेसहित ८ वटा माग राखेका छन्। उनीहरुसँग हस्ताक्षर गर्ने १० मध्ये ६ जनाले फिर्ता लिइसकेका छन्।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले आइतबार बिहान आफूले मन्त्रीहरुको राजीनामा पत्र गोजीमा बोकेर हिँडेको अभिव्यक्ति दिएका थिए।
उनले उक्त राजीनामा पत्र गोजीमा लिएर हिँडिरहेको भन्दै कुनै पनि बेलामा सो पत्र सार्वजनिक गर्ने उल्लेख गरे। अध्यक्ष नेपालले अन्य मन्त्रीहरूले पनि आफूलाई राजीनामा पत्र पठाउनेमा विश्वास व्यक्त गरे।
नेपालले मन्त्रिपरिषद् पुनर्गठनका लागि पार्टीले पठाएको पत्र पर्याप्त रहेको भन्दै सो आधारमा सरकारले तुरुन्त मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने नेपालको भनाइ थियो।