काठमाडाैं- सिंहदरबार वैद्यखाना विकास समितिले चालु आर्थिक वर्षमा लक्ष्यको करिब एक तिहाइ मात्र औषधि उत्पादन गरेको छ।
चालु आवमा ४५ हजार ८१२ किलोग्राम औषधि उत्पादनको लक्ष्य राखेकामा १४ हजार ६३८ केजी मात्र उत्पादन गर्न सकिएको उत्पादन शाखा प्रमुख डा हरिदेवप्रसाद यादवले जानकारी दिए। यो लक्ष्यको ३१.९६ प्रतिशतमात्र हो।
यो वर्ष जडीबुटी ल्याउन ठेक्का ढिला भएकाले पनि कम औषधि उत्पादन भएको हो। गत जेठमा मात्र जडीबुटी ल्याउने ठेक्का भएको थियो। ठेक्का सम्झौता भने हुने क्रममा रहेको उनले सुनाए।
आर्थिक वर्ष २०७७/७८ मा ५७ हजार ८२७ केजी औषधि उत्पादनको लक्ष्य थियो। गत आवमा पनि लक्ष्यको २३.२८ प्रतिशत अर्थात् १३ हजार ४६३ केजीमात्र औषधि उत्पादन भएको थियो।
गत वर्ष भने ठेक्का गरेर जडीबुटी भण्डारमा भए पनि कोरोनाको प्रभावका कारण पनि कम उत्पादन भएको जनाइएको छ। चालु आर्थिक वर्षमा २३ लट अर्थात् १२ हजार ७५ केजी च्यवनप्राश बनेको छ। एक लटमा ५२५ केजी हुने पनि उत्पादन शाखा प्रमुख यादवको भनाइ छ। रासस