काठमाडौं- स्वास्थ्यमन्त्री भवानी खापुङसहित नेकपा (एकीकृत समाजवादी) का चार जना नयाँ मन्त्रीले सपथ लिएका छन्।
सोमबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित सपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरूलाई सपथ खुवाएकी हुन्।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार मेटमणि चौधरीलाई शहरी विकास, जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार र भवानी खापुङलाई स्वास्थ्य मन्त्री नियुक्त गरेकी थिइन्।
नवनियुक्त मन्त्रीहरूले आजै कार्यभार सम्हाल्ने छन्। स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका हिराचन्द्र केसीलाई प्रधानमन्त्री देउवाले सपथ खुवाएका छन्।
एकीकृत समाजवादीले यसअघि मन्त्री भएकालाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय तीन साताअघि गरेको थियो। यसअघि राज्यमन्त्री रहेका खापुङ यसपालि स्वास्थ्य मन्त्रीमा बढुवा भएका हुन्।
प्रधानमन्त्री देउवाले आइतबार साँझ कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत राख्दै एकीकृत समाजवादीले सिफारिस गरेकालाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।