काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख विशेषज्ञ (१२ औँ तह)मा बढुवाका लागि दुई जनाको नाम सिफारिस भएको छ।
स्वास्थ्य मन्त्रालयको बढुवा समितिले प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवाको लागि १ नम्बरमा डा टंकप्रसाद बराकोटी र २ नम्बरमा डा संगिता कौशल मिश्राको नाम सिफारिस गरेको हो। मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो।
नाम सिफारिसमा पर्ने डा बराकोटी मेची अस्पतालमा कार्यरत छन् भने डा मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखामा कार्यरत छिन्।
स्वास्थ्यमा अहिले १२ औँ तहको एउटा पद रिक्त छ। मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख मदन भुजेलले आज बसेको बढुवा समितिको बैठकले डा बराकोटी र डा मिश्राको नाम सिफारिस गरेको जानकारी दिए।
स्वास्थ्यमा अहिले उमेर हदका कारण गत २ माघमा अवकाश पाएका प्रमुख विशेषज्ञ डा भीमसिंह तिंकरीको स्थान खाली छ। सो स्थानमा बढुवा गर्नका लागि गत ६ चैतमै सूचना निकालेको थियो ।