काठमाडौं- 'मिर्गौला जचाऔं, मिर्गौला बचाऔं' भन्ने नाराका साथ स्थापना भएको किड्नी केयरलाई महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले पाँच लाख रुपैंया सहयोग गरेको छ।
आइतबार आयोजित कार्यक्रममा महिला लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले किड्नी केयरका संस्थापक डा किरणजंग कुँवरलाई चेक हस्तान्तरण गरेका हुन्।
उक्त कार्यक्रममा बोल्दै महिला लघु वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले सरकारी स्वास्थ्य संस्थाबाट भन्दा पनि सर्वसुलभ मुल्यमा विज्ञ चिकित्सकबाट निःशुल्क मिर्गौला जाँच गर्ने अभियानबाट प्रभावित भएको चर्चा गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत किड्नी केयरलाई पाँच लाख नगद आर्थिक सहयोग गरिएको बताए।
उनले एक सय रुपैंयामा मिर्गौला जाँच गर्ने किड्नी केयरको अभियानलाई विस्तार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै आगामी वर्ष एम्बुलेन्स सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। किड्नी केयरका संस्थापक डा किरणजंग कुँवरले आर्थिक सहयोग प्रदान गरेकोमा महिला लघुवित्त वित्तिय संस्थालाई धन्यवाद व्यक्त गर्दै प्रशंसा पत्र प्रदान गरेका छन्।
उनले प्राप्त रकमब काठमाडौंस्थित तारकेश्वर नगरपालिकामा किड्नी केयरको आफ्नै भवन निर्माणमा उपयोग गरिने जानकारी दिए। डा कुँवरले सेवालाई काठमाडौं उपत्यका भित्र थप शाखाहरु सञ्चालन गरी सेवा विस्तार गर्ने योजना रहेको जानकार िदिए। नेपालमा वार्षिक ३ हजार भन्दा बढी व्यक्तिको मिर्गौला फेल हुने अनुमान छ।
सर्वसुलभ रुपमा मिर्गौला परीक्षणको सेवा दिने उद्देश्यले काठमाडौंको गौशालामा किड्नी केयर सेन्टरको स्थापना गरिएको छ।
गौशाला पिंगलास्थानमा स्थापना भएको ‘किड्नी केयर सेन्टर' मा मिर्गौला रोग विशेषज्ञ डा किरणजंग कुँवरले १०० रूपैयाँमै मिर्गौला परीक्षण गर्ने गरेका छन्।
सर्वसाधारणले सुलभ मूल्यमा मिर्गौलाको जाँच गर्न सकुन् भनेर मिर्गौला परीक्षणको शुल्क एक सय रूपैयाँ मात्र राखिएको उनको भनाइ छ। किड्नी केयरमा मिर्गौला जाँच गरेको सय रूपैयाँ शुल्कमा निःशुल्क परामर्शसमेत दिइने छ।