घोराही- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङले पोषण पुनर्स्थापना गृहबाट ४२ जना कुपोषित बिरामीलाई उपचार सेवा दिएको छ। २०७५ असार मसान्तमा नेपाल युथ फाउन्डेसनले हस्तान्तरण गरेपश्चात संचालनमा ल्याउने प्रयास गरिएपनि गत वर्षको पुस १ गतेबाट विधिवत रुपमा संचालनमा ल्याईएको पोषण पुनस्र्थापना गृहबाट साविक राप्तीका दाङ, सल्यान, प्यूठान, रोल्पा र रुकुमका कुपोषित बिरामीको उपचार गरिएको बुधबार आयोजित समिक्षा गोष्ठीमा जानकारी गराइएको छ।
प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेको अध्यक्षतामा भएको समीक्षा गोष्ठीमा पोषण अधिकृत सर्जु बरालले हाल ६ बेडबाट सेवा प्रदान गर्दैको जानकारी गराउँदै हालसम्म ४२ जना भर्ना भएकोमा ३६ डिस्चार्ज भएको र ६ जना उपचाररत रहँदा १ जनालाई भने रिफर गरिएको बताए।
उनका अनुसार २०७८ को पुसमा १, माघमा १, फागुनमा ७, चैतमा ८, वैशाखमा १०, जेठमा ८ र असारको १४ गतेसम्म ७ जना गरी ४२ जना भर्ना भएकोमा उपचारपछि ३६ जना डिस्चार्ज भएका छन्।
उपचारका लागि आउने बिरामीहरुलाई पोषण सुरक्षासहित आहार, औषधि, उपचार, निशुल्क जाँच, चिकित्सकको निर्देशन अनुसार औषधि पनि हुने गरेको बताइएको छ। उपचारका लागि सबैभन्दा सल्यानबाट कुपोषित बिरामी आउने गरेको जानकारी समेत गराइएको छ। हालसम्म केन्द्रले विनियोजन गरेको १० लाखबाट सेवा दिएपनि २४ लाख बढी खर्च भईसकेको बताइएको छ।
सो अवसरमा उपकुलपति डा लामिछानेले केन्द्रको मात्रै बजेटले उपचार सेवा सम्भव नहुने भन्दै सकेसम्म कुपोषण हुनै नदिने गरी समुदाय स्तरमा सचेतना बढाउने कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिए।
उनले समुदायमा रहने नागरिकको स्वास्थ्यका लागि वडा स्तरबाटै पहल हुनुपर्ने भएपनि अहिले पनि स्थानीय सरकार पूर्वाधार निर्माणमात्रै केन्द्रित हुँदा मानवीय विकास पछि पर्दै गएको बताए। ‘अहिले पनि हार्डवयर क्रियाकलापमा ध्यान स्थानीय सरकारको ध्यान छ,’ उनले भने, ‘मानव विकास सुचकांक सुधार गर्न उनीहरुको आधारभूत तहको सेवा र सुविधामा ध्यान दिनुपर्छ, जसका लागि समुदाय स्तरमा सचेतना पुर्याउनुपर्छ ।’
उनले अहिलेको भौतिक विकासले मानिसलाई धेरै कुरामा प्रभाव पारेकोले सचेत नागरिक, सेवा प्रवाहमा खटिने निकायले सही सूचना र सन्देश दिँदै मानवीय जोखिमबाट बचाउनु पर्ने बताए। उनले भने, ‘हामी अण्डा बेचेर चाउचाउ खान्छौ, दूध बेचेर रक्सि खान्छौँ अनि कसरी मानिस स्वस्थ हुन्छ। समुदाय स्तरमा सुआहारा जस्ता कार्यक्रम प्रभावकारी बनाउनुपर्छ। राम्रो काउन्सिलिङ हुनुपर्छ।’
अस्पतालकी निर्देशक डा प्रज्ञा बस्नेतले हालको सेवा सुविधा बढाउन पूर्वाधार विकासमा ध्यान दिने बताइन्। सेवाको पहुँचसँगै आम नागरिकमा पोषण सुरक्षाका बारेमा सही जानकारी दिने गरी प्रतिष्ठानले निरन्तर कार्यक्रम गर्दै जाने उनको भनाई थियो।
कार्यक्रममा सुआहाराका रोशन पौडेलले दाङमा १२ सय बढी कुपोषित बिरामी रहेको जानकारी गराउँदै समुदाय स्तरमा पुगेर उनीहरुको उपचार गर्न चुनौतिपूर्ण बन्दै गएको बताए। उनले जानेका व्यक्तिले लापरवाही गर्ने तथा दूरदराजका नागरिकहरुले नजानेरै कुपोषणको सिकार हुने क्रम रहेको बताए।
कार्यक्रममा स्वास्थ्य कार्यालय दाङकी जन स्वास्थ्य निरिक्षक सीता कवँर, वरिष्ठ कन्सल्टेन्ट डा जनार्दन पन्थी, मेडिकल निर्देशक डा रमेश कँडेल लगायतले बोलेका थिए। कार्यक्रमको सहजीकरण सूचना अधिकारी निशानदाजु भट्टराईले गरेका थिए।