काठमाडौं- बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट अगाडि बढेको सिटी स्क्यान मेसिनको खरिद प्रक्रियामा सेटिङ गरेको आशंकामा बागमती प्रदेश सार्वजनिक लेखा समितिले छानबिन थालेको छ।
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट गरिएको सिटी स्क्यान खरिद प्रक्रियाको छानबिन गर्न समिति सभापति न्हुच्छेनारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरिएको छ।
उपसमितिमा एमालेका सांसद चन्द्रबहादुर लामा र विवेकशीला साझा पार्टीका सांसद रमेश पौड्याल सदस्य छन्। उपसमिति सदस्य सचिव दीपक अधिकारीलाई तोकिएको छ। समितिको समय सीमा साउन १० गतेसम्म रहेको छ। ‘अनुदान वितरण र उपकरण खरिद प्रक्रियाको विषयसँग सम्बन्धित कागजात हामीले मागेका छौं। कागजात आएपछि थप उनुसन्धन गर्छौं’ उपसमिति सदस्य रमेश पौड्यालले भने।
प्रदेशसभाको वैठकमा अनुदान र स्वास्थ्य उपकरण खरिद प्रक्रियामा त्रुटी भएको विषयले प्रवेश पाएसँगै समितिले छानविन गर्ने निष्कर्ष निकालेको हो।
व्यापारीसँगको मिलेमतोमा केन्द्रका निर्देशक डा अर्जुनप्रसाद सापकोटाले सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीलाई पन्छाएर झण्डै सात करोड बढी रकम कबोल गरेको अर्को कम्पनीलाई खरिद गर्ने दिने निर्णय गराएको समाचार सिटी स्क्यान खरिदमा सेटिङ: ७ करोड बढी रकम कबोल गर्नेलाई खरिद गर्न दिने निर्णय स्वास्थ्य खबरले प्रकाशित गरेको थियो।
निर्देशक सापकोटाले व्यापारिसँग मिलेमतोमा गरेको उक्त सेटिङमा नेपाली कांग्रेसको बागमती प्रदेशका सभापती इन्द्र बानियाँ, बागमती स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीको मिलेमतो रहेको स्रोत बताउँछ।
स्रोतका अनुसार मेडट्रोनिक्स नेपाल प्रालीका सञ्चालकसँग काठमाडौंको एक होटलमा बसेर निर्देशक सापकोटाले सिटी स्क्यानका लागि सेटिङ मिलाएका थिए।
सो क्रममा निर्देशक सापकोटाले कांग्रेसका बागमती प्रदेश सभापती बानियाँका नाममा पनि कमिसन रकम बुझाउनु पर्ने भन्दै कमिसनको रकम बढाएको स्रोतले स्वास्थ्यखबरलाई जानकारी दिएको छ। स्रोतका अनुसार सुरुमा ३२ करोडमा पाँच वटा सिटी स्क्यान मेसिन किन्ने गरी बजेटको व्यवस्था गरिए पनि कमिसनकै लागि उक्त बजेट बढाएर ३६ करोड ६४ लाख भन्दा बढी पुर्याएको हो।