काठमाडौं- गृह मन्त्रालयले सशस्त्र प्रहरी अस्पतालका डा सुजीतकुमार साहलाई स्पष्टीकरण माग गरेको छ। वैशाख १३ देखि गैरहाजिर रहेका डा साहलाई ७ दिने स्पष्टिकरण सोधिएको हो। यसअघि उनको स्थानीय ठेगानामा म्याद सूचना टाँस गर्दासमेत सम्पर्कमा नआएपछि सशस्त्र प्रहरी बलले डा साहलाई सेवाबाट हटाउन जेठ २७ गते गृह मन्त्रालयमा सिफारिस गरेको छ।
त्यस्तै, असार २ मा गोरखापत्रमा पनि सूचना सार्वजनिक गरिएको थियो। सफाई पेश गर्न आग्रह गर्दा बेवास्ता गरेको जनाउँदै मन्त्रालयले हटाउने तयारी गरेको हो।
मन्त्रालयले पुनः सात दिने म्यादसहितको सूचना जारी गरी सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११० को खण्ड (ख) (१) बमोजिमको विभागीय सजाय किन नदिने ? भनी स्पष्टीकरण सोधेको छ ।
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११० को खण्ड (ख) (१) मा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने व्यवस्था छ।
