काठमाडौं- कोरोना जोखिम भत्ता नपाएपछि भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरुले अस्पतालको ओपीडी सेवा ३ घण्टा बन्द गरेका छन्। स्वास्थ्यकमीहर्रुले आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म ओपीडी सेवा ठप्प पारेका हुन्।
असार १६ देखि आन्दोलनमा उत्रिने चेतावनी दिएकास्वास्थ्यकर्मीहरुले शनिबारदेखि अस्पतालमा अनिश्चिकालिन धर्ना समेत सुरु गरेका छन्।
अस्पतालमा सेवा बन्द गरेर आन्दोलन स्वास्थ्यकर्मीले आन्दोलन गरेपछि उपचारका लागि पुगेका बिरामीहरु मर्कामा परेका छन्।
संघर्ष समितिका अध्यक्ष गोपाल उपाध्यायले आन्दोलन घोषणा गरेको १२ दिन बढी भइसक्दा पनि सरकारले कुनै चासो नदिएपछि दवावस्वरुप ओपीडी सेवा ठप्प पारेको बताए।
माग पुरा नभए आन्दोलन देशव्यापी बनाउने उनको दाबी छ। उपाध्यायका अनुसार भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको १ करोड ४९ लाख ८० हजार रकम पाउन बाँकी छ।
अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले राज्यले घोषणा गरेको कोरोना जोखिम भत्ता वापतको रकम हालसम्म नआएकाले स्वास्थ्यकर्मीलाई दिन नसकिएको बताए।