अछाम- अछामको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैन स्वास्थ्य चौकीले भारतीय राजदूतावास मार्फत एम्बुलेन्स पाएको छ।
काठमाडौंस्थित भारतीय दूतावासले एक कार्यक्रम मार्फत जिल्लाको तिमिल्सैन स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो।
७५ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा भारत सरकारले नेपाललाई अनुदान सहायता स्वरूप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको थियो । सोही उपहार कार्यक्रम मार्फत तिमिल्सैनले समेत एम्बुलेन्स पाएको हो।
तिमिल्सैन स्वास्थ्य संस्थालाई एम्बुलेन्स उपलब्ध गराउनका लागि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना र नेपाल प्रहरीका निरिक्षक योगेन्द्र तिमिल्सिनाले विशेष पहल गरेका थिए।
तिमिल्सैन स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको एम्बुलेन्स गाउँपालिका अध्यक्ष टेकबहादुर साउँद र तिमिल्सैनका वडाध्यक्ष किरण खत्रीले बुझेका छन्।
‘एम्बुलेन्स प्राप्त भएपछि अब बिरामीलाई अस्पतालसम्म पुर्याउन सहज हुनेछ,’ वडाध्यक्ष खत्रीले भने, ‘जनतालाई बिरामी हुँदा अस्पतालसम्म पुर्याउनका लागि व्यहोर्नुपर्ने समस्या अन्त्य भएको छ।’ उनले एम्बुलेन्सलाई वडा, गाउँपालिका र जिल्लास्तरमा आवश्यकताका आधारमा परिचालित गरिने बताए।
बान्नीगढी जयगढ गाउँपालिकामा प्रदेश सरकारले दिएको एम्बुलेन्स भएपनि निरन्तर आउने प्राविधिक समस्याका कारण पूर्ण रुपमा सञ्चालनमा छैन। जसका कारण स्थानीयले बिरामीहरुलाई अस्पतालसम्म पुर्याउन समस्या झेल्दै आएका छन्।