काठमाडौं- आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पाँचौ राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाएको छ। विभागले आज टेकुमा एक कार्यक्रम गरी पाँचौ राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाएको हो। आयुर्वेदसँगै प्राकृतिक चिकित्सालाई पनि सरकारले उत्तिकै महत्व दिएको विभागले जनाएको छ।
कार्यक्रममा योग तथा प्राकृतिक चिकित्सा संघका अध्यक्ष जनक बहादुर बस्नेतले प्राकृतिक चिकित्सा औषधि विहीन चिकित्सा पद्दति भएको बताए। उनले नसर्ने रोगको रोकथामदेखि मानसिक समस्या नियन्त्रणमा प्राकृतिक चिकित्साको महत्वपूर्ण भूमिका भएको बताए।
विभागमा प्राकृतिक चिकित्सकको दरबन्दी सिर्जना गर्न उनको सरकारलाई आग्रह छ। सरकारले २०७४ सालदेखि राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाउँदै आएको छ।