घोराही- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बिस्तारित सेवा (इएचएस) सुरु हुने भएको छ।
प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन साउन १ गतेदेखि नै यो सेवा सुरु गर्न लागिएको बताए। बिस्तारित सेवा दिउसो १२ बजेपछि नाम दर्ता गरेर अस्पतालको टिकट काट्ने व्यवस्था मिलाइएको र १ बजेपछि बिरामीले सेवा पाउने उनले बताए।
अस्पतालमा आउने बिरामीहरूले जेनरल बाहेकको समयमा आफूले इच्छाएको र रोजेको चिकित्सकबाट उपचार सेवा दिने उद्देश्यले इएचएस सेवा सुरु हुन लागेको उपकुलपति लामिछानेले बताए।
बिरामीहरूले प्रतिष्ठानमा बिस्तारित सेवा अन्तरगत फिजिसियन, प्रसूति, सर्जन, हाडजोर्नी, बालरोग, मानसिक, छाला, नाककान घाँटी रोग विशेषज्ञसहित अत्याधुनिक उपकरणसहितको ल्याबबाट सेवा पाउने सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए।
इएचएस सेवामा नाम दर्ताको लागि ५ सय रुपैयाँ लाग्ने बताइएको छ।