काठमाडौं- सर्वोच्च अदालतले विध म्यानेजमेन्टका सञ्चालक भीमकान्त भण्डारी लगायतले उत्प्रेषणको माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
अख्तियारले विध म्यानेजमेन्ट समेतलाई विपक्षी बनाई विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि कम्पनीको खाता रोक्का भएको र अन्य व्यवसायिक काम कारवाही गर्न पनि समस्या परेको भन्दै भीमकान्त भण्डारी लगायतले सर्वोच्चमा उत्प्रेषणको माग गर्दै रिट दर्ता गराएका थिए।
उनीहरुले अख्तियारले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर भ्रष्टाचारको मुद्दा दायर गरेको र मुद्दाकै कारण खाता रोक्का भई अन्य काम कारवाही गर्न नपाएको भन्दै विध म्यानेजमेन्टले अख्तियारको निर्णय कार्यान्वयन हुन नदिन/नगराउन उत्प्रेषणको आदेशबाट मागदाबी गरेका थिए।
तर सर्वोच्चले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग विध म्यानेजमेन्टका सञ्चालकविरुद्धको मुद्दामा कारण माग गरेको छ। सार्वजनिक पदमा बहाल रही राजीनामा दिई व्यापारमा लागेको अवस्थामा कम्पनीको कारोबार नै रोक्का हुनेगरी दायर भएको मुद्दाका सम्बन्धमा कारण देखाउ आदेश जारी भएको हो।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले विध म्यानेजमेन्टका सञ्चालकमध्येका एक भीमकान्त भण्डारीविरुद्ध विशेष अदालतमा दायर भएको भ्रष्टाचारको मुद्दामा कम्पनीलाई समेत विपक्षी बनाउनुको आधार र कारण माग गर्दै १५ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको हो।
त्यसपछि अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा निर्णय हुने सर्वोच्चको आदेशमा उल्लेख छ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीमाथि ६ करोड २४ लाख गैरकानूनी सम्पत्ति आर्जनको अभियोगसहित विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
भण्डारीले २१ असोज २०७३ देखि १ साउन २०७७ सम्ममात्रै सरकारी सेवामा थिए। नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक पदमा काम गरेको अवधिमा जागिरको अवधिमा २६ लाख ६१ हजार रुपैंया आर्जन गरेका थिए।
तर उनको खर्च र लगानी (जग्गा खरिद, बैंक तथा हाइड्रोपावर कम्पनीको शेयर खरिद तथा बैंकमा जम्मा रकम) ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैंया पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। भण्डारीले यो अवधिमा पारिश्रमिक, श्रीमतीको तलबबाट बचत, सञ्चय कोषबाट लिएको ऋण र जागिर सुरु हुनुभन्दा अघिको बचतलाई समेत देखाएर आफूले कानूनसम्मत आर्जन गरेको दाबी गरेका थिए।
यो पनि:
६ करोड भ्रष्टाचार गरेको आरोपमा विध ल्याबका सञ्चालक भण्डारीविरुद्ध मुद्दा दायर